पोखरा । पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा प्रतिनिधिका लागि एकदिने नेतृत्व विकास तालिम दिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये १६० जना कक्षा प्रतिनिधि (सिआर)का लागि यो कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थी मध्ये हरेक कक्षाबाट ४ जनाका दरले कक्षा प्रतिनिधि चयन गरिएको छ । तिनै विद्यार्थीका लागि नेतृत्व विकास तालिम दिइएको हो । ‘विद्यार्थीमा अन्तरनिहीन क्षमता विकास गर्नका लागि यो प्रशिक्षण दिएका हौ । यसले कक्षा प्रतिनिधिहरुलाई जिम्मेवार बनाएको छ भने थप हौसला पनि प्रदान गरेको छ,’ सापकोटाले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीमा कक्षा प्रतिनिधि भएपछि पनि के गर्ने वा नगर्ने भन्ने ज्ञान नहुन सक्छ, कक्षाकोठाको अनुशासन कायम गर्नेदेखि विद्यालय प्रशासनसमक्ष मध्यस्थता गर्ने काम प्रतिनिधिले गर्ने भएकोले उनीहरुलाई ज्ञानको आवश्यक पर्ने बताएका छन् ।
वरिष्ठ मनोपरामर्शदाता तथा उत्प्रेरणवक्ता रमण भट्टराईले तालिमको सहजिकरण गर्दै विद्यार्थीलाई यस तालिमले कक्षाकोठामा थप जिम्मेवार बनाउने बताए । विद्यालयका संस्थापक राकेश जोशीले विद्यार्थीमा अन्तरनिहिन क्षमता विकास गर्नका वर्षेनी यस्तै कार्यक्रम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि कक्षा प्रतिनिधिका लागि यस्ता खालका प्रशिक्षण दिइने जनाएका छन् ।
Comments are closed.