लेखनाथ महोत्सवमा महिला उद्यमीबाट उत्पादित स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने

पोखरा । कास्कीको लेखनाथमा २० औँ लेखनाथ महोत्सव २०८१ हुँदैछ । महोत्सवको तयारीलाई तीव्र बनाइएको छ । यही पुस १८ गते देखि हुने महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्रोत्साहन गरिने भएको छ । महोत्सवमा गठित विभिन्न उपसमितिबाट आफ्नो जिम्मेवारी अनुसार काम भइरहेको छ । विभिन्न उपसमिति महोत्सवका सन्दर्भमा तयारीमा लागेका छन् ।

महिला उद्यमी उपसमिति बैठकमा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारिकरण तथा बिक्रि वितरणको लागी निःशुल्क रुपमा ४ वटा स्टलको समेत व्यवस्था गरिएको महिला उद्यमी उप–समिति संयोजक प्रतिक्षा रानाभाटले बताइन् । महिला उद्यमीका लागि छुट्टाइएको स्टलमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उनी बताउँछिन् ।

गुन्द्रुक, मस्यौरा, सिरौंला, अनादिको चामल, विभिन्न किसिमका अचार लगायतका उत्पादनलाई जोड दिन महिलालाई प्रोत्साहन गरिएको छ । महोत्सवमा हस्तकलाका सामग्रीहरु पनि रहनेछन् । महोत्सवलाई व्यवस्थित बनाउनको लागि महिला उद्यमीलाई अतिथि स्वागत सत्कारमा समेत परिचालन गरिने महिला उद्यमी एवं गेट व्यवस्थापन उप–समिति संयोजक समेत रहेकी रानाभाटले जानकारी दिइन् ।

महोत्सवलाई व्यवस्थित बनाउनको लागि महिला उद्यमीलाई अतिथि स्वागत सत्कारमा समेत परिचालन गरिने तयारी बैठकमा बताइएको छ । प्रचार–प्रसार समिति संयोजक जानुका पराजुलीले सबै महिला उद्यमीलाई आ–आफ्नो ठाउँबाट सक्रियतापुर्वक खटेर महोत्सवलाई सफल सघाउनुपर्ने बताइन् । उनले महोत्सवमा मात्र नभई महिलालाई कसरी उद्यमशिल बनाउन सकिन्छ भन्नेमा संघको सदैव चासो र प्रयत्न रहेको हुँदा त्यसको लागी आवश्यक तालिमको माग गर्न पनि आग्रह गरिन् ।

सो अवसरमा कृषक महिला उद्यमी समितिका संस्थापक अध्यक्ष मेनुका श्रेष्ठ, अध्यक्ष ईन्दिरा रोका, रैथाने प्रर्वद्धन संरक्षण प्रर्वद्धन उप–समिति पार्वती थापा, महिला उद्यमी समिति सचिव शर्मिला श्रेष्ठ, हाजिरीजवाफ प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक प्रभाकुमारी लामिछाने लगायतले महोत्सव सफल बनाउन सबैको साथ र सहयोग रहेको बताएका छन् । माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव ३३५ वटा स्टलहरु रहनेछन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

You might also like

Comments are closed.