लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा, रु ९ करोड बराबरको आर्थिक कारोबार हुने

पोखरा । लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस १८ देखि माघ १ गतेसम्म हुने महोत्सवको सन्दर्भमा सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं २७ स्थित डाडाँकोनाक तालचोकमा महोत्सव हुनेछ । संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी दिदै महोत्सव सञ्चालनका लागि मूल आयोजक समिति, विभिन्न समिति तथा उपसमिति, सरोकारवाला, उद्योगी, व्यवसायी, सरोकारवाला सबैको साथ र सहयोग रहेको बताए ।

अध्यक्ष श्रेष्ठले करिव २ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने, ९ करोड बराबरको आर्थिक कारोबार, ९० लाख आम्दानी, ८० लाख खर्च र १० लाख बराबरको रकम वचत गर्ने आयोजकको अनुमान रहेको जानकारी दिएका छन् । उनले यस महोत्सव सम्पन्न गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको हुँदा बिगतका महोत्सवमा जस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् ।

बचत रकमबाट प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्धारा उत्पादित वस्तुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोशेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघका महासचिव तथा प्रचार प्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले बताइन् ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो । मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, सहप्रायोजकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र एयरलाइन्स पाट्नरमा एती एयरलाइन्स रहेको छ । विद्यार्थीका लागि टिकट रु ६०, साधारण टिकट रु १ सय र सुगम संगित टिकट (कन्सर्ट) रु ३ सय टिकट दर कायम गरिएको छ ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनमा प्रवद्र्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने मेलाको उद्देश्य रहेको छ । लेखनाथ महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निर्देशक समिति, सल्लाहकार समिति, उप–समिति, कार्यसम्पादन समिति गठन गरिएको छ ।

यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी, नेपाली उत्पादनलाई प्राथमिकता राख्दै छुट्टै स्टल (पेभिलियन) को व्यवस्था, महोत्सवस्थलमा शान्तिकादुत गौतम बुद्धको प्रतिमा निर्माण, नव प्रतिभा खोजि अन्तर्गत खुल्ला जोडि नृत्य प्रतियोगिता, महोत्सवमा एक्कीयम राखि विभिन्न जातका एक सय भन्दा बढी माछासँग रमाउन पाइने, पहिलो पटक महिलाहरुको क्षमता अभिवृद्धिका लागि महिला तथा आमा समूहबीच हाजिरी हजाफ प्रतियोगिता, महिला उद्यमीद्धारा उत्पादित अचार, कृषि जन्य वस्तु, हस्तकलाका सामाग्री लगायतको प्रदर्शनी एवं विक्रि मुख्य आकर्षकको रुपमा रहेको छ ।

यस्तै लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तीय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, औद्योगिक ब्यापार मेला, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरुको खरिद–विक्रि, जातजातिको रितिरिवाज तथा सांस्कृतिक कार्यक्रम प्रस्तुती, बृहत झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय लोक नृत्य कार्यक्रम, विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगिता महोत्सवका आकर्षण हुन् ।

सुगम संगिततर्फ पप कन्सर्ट र लाइभ व्याड, राष्ट्रिय स्तरका चर्चित कलाकारबाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याड्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् । महोत्सवमा जम्मा स्टल संख्या ३३६ वटा रहेका छन् जसमध्ये अटो प्रदर्शनी स्टल ६, शैक्षिक तथा ग्रामिण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहेका छन् भने स्टल बुकिङ कार्य सबै सम्पन्न भइसकेको छ ।

पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबटिक क्लब, गण्डकी विश्वविद्यालय आविस्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ । विद्यालय स्तरीय कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता भने पुस ११ गते चित्रकला सम्पन्न भइसकेको छ । प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता थियो । विद्यार्थीबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रमा रहेका विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरुको दैनिक प्रस्तुती रहनेछ । महोत्सव उद्घाटन कार्यक्रम शोभायमान बनाउन र समग्र लेखनाथको अस्तित्व बचाउनका लागि अनेकतामा एकताको पहिचान स्वरुप प्रस्तुत गरिने झाँकी र्यालीका लागि ४ सय भन्दा बढी समूह दर्ता भइसकेका छन् । सुरक्षा व्यवस्था चुस्त र दुस्त राख्नका लागि नेपाल प्रहरी तथा सेक्युरिटि गार्डलाई परिचालनका लागि व्यवस्था गरिएको छ । साथै विभिन्न स्थानमा सि.सि क्यामराको प्रवन्ध मिलाइएको छ ।

यस क्षेत्रको समग्र आर्थिक विकास र उद्योगी व्यवसायीको हकहितको संरक्षण र संबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ वि.सं २०५४ साल असार २० गते लेखनाथ उद्योग वाणिज्य संघको स्थापना भएको हो । यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन तथा आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनका लागि वि.सं २०५९ र ६० मा सुन्तला प्रदर्शनी, २०६१ मा सुपथ मुल्य बजार र लेखनाथ महोत्सव सम्पन्न गरिएको संघले जनाएको छ । यस्तै वि.सं २०६१ देखि नियमित रुपमा सञ्चालन हुदै आइरहेको लेखनाथ महोत्सव आज २० औं संस्करणमा आइपुगेका छ । समय सापेक्ष मेलालाई परिमार्जन गर्दै नेपालकै उत्कृष्ट मेला महोत्सवको रुपमा आफुलाई स्थापित गराउन यस लेखनाथ महोत्सव सफल भएको छ ।

 

 

lcci
You might also like

Comments are closed.