शहीद बहुमुखी क्याम्पसमा सञ्चालित महायज्ञ सकियो

रामपुर (पाल्पा) । शहीद बहुमुखी क्याम्पस रामपुर नगरपालिका–७ किसानबारी गत पुस १६ देखि सुरु भएको महायज्ञ मंगलबार विधिवत् रुपमा सम्पन्न भएको छ । शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको महायज्ञ लक्ष्य अनुरुप दान सङ्कलन गर्दै सम्पन्न भएको हो ।

धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको अन्तिम दिन सम्ममा ४ करोड ३९ लाख ६४ हजार ४२४ रुपैयाँ ३० पैसा बढी दान सङ्कलन भएको छ । जग्गा तथा नगद सहितको दान सङ्कलन भएको महायज्ञ मुल आयोजक समितिक‍ो सचिवालयले जनाएको छ । महायज्ञको अन्तिम दिन रामपुर नगरपालिका–७ निवासी तेजकुमारी उपाध्यायले एक करोड बराबरको जग्गा दान गर्ने घोषणा गरेकीछिन् । साथै मंगलबार ५४ लाख ५२ हजार ७८८ रुपैयाँ जग्गा सहितको दान सङ्कलन भएको थियो ।

अहिलेसम्म प्राप्त विवरण थप रुजु गर्न बाँकी रहेको आर्थिक सङ्कलन समितिका संयोजक सुकदेव पोखरेलले जानकारी दिए । “यज्ञस्थलमा रहेको दानपेटीकाहरुको रकम गणना कार्य भइरहेको छ, अन्य केही दान रकमहरु समेत जोड्न बाँकी छ । बुधबार दिउँसो सम्ममा दानको विस्तृत विवरण आउनेछ” उनले भने ।

अन्तिम दिन रामपुर नगरपालिका–७ कठान बस्ने केशवराज पोखरेलबाट पाँच लाख ७५ हजार ५५५, रामपुर नगरपालिका–७ कठान बस्ने कृष्णप्रसाद भट्टराईबाट पाँच लाख पाँच सय, रामपुर नगरपालिका–७ कठान बस्ने कलमराज भट्टराईबाट पाँच लाख पाँच सय, बुटवल उपमहानगरपालिका–१२ निबासी क्याम्पसका सहायक प्रध्यापक अशोक ढुङ्गाना र गिता शर्माबाट एक लाख १११, स्याङ्जा वालिङ निवासी बुद्धिप्रसाद श्रेष्ठ एक लाख ११ हजार १११, मालिका–७ गुल्मी निवासी यमबहादुर कार्की एक लाख १११, तानसेन नगरपालिका–१ निवासी माधवी ज्ञावली अर्याल र इश्वरी प्रसाद अर्याल एक लाख १११, रामपुर नगरपालिका–७ बस्ने जीवन तिवारीबाट एक लाख ११ हजार १११, रामपुर नगरपालिका–७ निवासी भट्टराई परिवार बाट अक्षयकोषका लागि एक लाख दान सङ्कलन भएको छ ।

यस्तै रामपुर नगरपालिका ६ हाल काठमाडांै निवासी सुविधा थापाबाट ७५ हजार ५७५, रामपुर नगरपालिका–६ कौवा निवासी बोमकला ढकाल ६८ हजार, रामपुर नगरपालिका–६ बस्ने जिताकला ढकाल बाट ६० हजार १६०, रामपुर नगरपालिका–७, मोहटी निबासी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलबाट ५५ हजार ५५५, रामपुर नगरपालिका–२ निवासी रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाबाट ५५ हजार ५५५ सहयोग जुटेको छ ।

रामपुर नगरपालिका–५ राङभाङ निवासी अच्युतराज भट्टराई ५५ हजार १५५, कास्की पोखरा निवासी सागर सिंह बाट ५१ हजार, रामपुर नगरपालिका–७ कठान बस्ने प्रदिप रेग्मीबाट ५१ हजार ११७, रामपुर नगरपालिका–८ बस्ने शिव अर्यालबाट ५१ हजार १११, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाबाट ५१ हजार ५५५, चन्द्रसूर्य हार्डवयरका सञ्चालक रामपुर नगरपालिका ७ कठान बाट ५१ हजार ११ सहित विभिन्न दानदाता संघ, संस्था र समुहले दान गरेको सचिवालयले जनाएको छ ।

प्रवचन सुरु भएको पहिलो दिन जग्गासहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले घोषणा गरेको २० लाख रुपैयाँसहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान सङ्कलन भएको थियो । चौथो दिन शनिबार ३२ लाख ४८ हजार रुपैयाँ, पाँचौ दिन ६३ लाख पाँच हजार ५१९, छैठौं दिन ८३ लाख ५ हजार ३०६ रुपैयाँ ५३ पैसा दान सङ्कलन भएको बताइएको छ ।

साथै यज्ञमा धान दानमा पनि भक्तजनको उत्साह देखिएको थियो । गण्डकीवेशी क्षेत्रको विभिन्न स्थानमा रहेका ९६ वटा धान सङ्कलन केन्द्रहरुबाट एक हजार ३२ मुरी धान सङ्कलन भएको छ । धान सङ्कलन स्थलमा भक्तजनले स्वऐच्छिक रुपमा दान गरेका छन् । सो अनुसार अझ धेरै धान सङ्कलन भएको धान दान सङ्कलन समितिका ऋषिराम रेग्मीले जानकारी दिए । महायज्ञमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई सभानायक रहेका थिए ।

महायज्ञ समापन कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शहीद क्याम्पस रामपुर नगरको मात्रै नभई कालीगण्डकी वेशी क्षेत्रको गहना भएको बताए । सहिदको सम्झनामा स्थापना भएको क्याम्पसको उत्थानका लागि भएको महायज्ञले लक्ष्य अनुरुप सफल भएको बताउँदै दानदातालाई नगरपालिकाको तर्फबाट धन्यवाद दिए । शिक्षाको विकास आवश्यक छ भन्ने उद्देश्यले भएको महायज्ञमा सरोकारवाला सबैले देखाएको सक्रियता र प्राप्त साथको प्रशंसा गरे ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई विकासको मुख्य आधार शिक्षा रहेको बताउँदै क्याम्पसको उत्थानको लागि गल्याङ नगरपालिका पनि सहयोग गर्न तयार रहेको बताए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शहीद क्याम्पस गण्डकवेशी क्षेत्रको शैक्षिक धरोहर रहेको बताउँदै पालिकाको तर्फबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले शहीद क्याम्पसले गण्डकीवेशी क्षेत्रमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको बताइन् ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले अत्यन्तै उत्साह, उमंग सहित सबैको साथ सहयोगबाट महायज्ञ सम्पन्न भएको बताएका छन् । लक्ष्य प्राप्तिका लागि सबैको साथ र सहयोग यसरी नै रहनेछ भन्नेमा विश्वस्त समिति विश्वस्त रहेको बताउँदै महायज्ञ सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । क्याम्पस प्रमुख एवं महायज्ञ मुल आयोजक समितिका महासचिव मुरारीप्रसाद काफ्लेले एक महिना देखिको तयारीले सार्थक रुप प्राप्त गरेको र आर्थिक मन्दीका विच अनपेक्षित रुपमा महायज्ञले सफलता प्राप्त गरेको बताए । मुल आयोजक समितिका उपाध्यक्ष सुकदेव पोखरेलले समापन सत्रको धन्यवाद दिएको कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गरेका हुन् ।

समापनको अवसरमा पण्डितसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भएको महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ग्रहशान्ति, रुद्री, ज्योतिष परामर्श, दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजन कृतन भएको थियो ।

क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तिको सहभागीतामा यज्ञ सञ्चालन गरिएको छ । ‘शहीद क्याम्पसको चाहाना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ महायज्ञ सञ्चालन भएको थियो ।

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेका छन् ।
पूर्वी पाल्पाकै सबैभन्दा ठूलो शैक्षिक संस्थाको रुपमा रहेको यस क्याम्पसलाई यो क्षेत्रमा शिक्षा आर्जन गर्ने महत्वपूर्ण मेरुदण्डको रुपमा लिइन्छ । २०४६ सालको जनआन्दोलनमा सहिद भएका सूर्यप्रसाद घिमिरको सम्झनामा यहाँ क्याम्पस स्थापना गरी सञ्चालन गरिएको हो ।

 

lcci
You might also like

Comments are closed.