रामपुर (पाल्पा) । रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सवको विषयमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको छ । आगामी माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेको हो ।
मेलाको तयारीको विषयमा हाल सम्म भएका कार्यहरुबारे जानकारी गराउँदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले यस पटकको महोत्सव रामपुर क्षेत्रमा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने बताए । उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, यहाँ रहेका कला संस्कृतिको पनि जगेर्ना गर्नेुका साथै याहाँका व्यावसायिक सम्भावनाको उजागर गरी ठूला लगानी मैत्री वातावरण सृजना गर्नु चौथो उद्देश्य रहेको अध्यक्ष ढकाल बताउँछन् ।
उनी भन्छन्, ‘विगतको पहिलो र दोस्रो महोत्सवको माध्यम बाट रामपुर क्षेत्रलाई चिनाउन सफल भयौं । तेस्रो महोत्सवमा कोरोना महामारीले प्रभावित बनाएको उद्योग व्यवसायलाई थप चलायमान गराउने लक्ष्य लिएर महोत्सव सम्पन्न ग¥यौं । चौथो संस्करणलाई हामीले कसरी ठूला लगानी भित्र्र्याउन सकिन्छ भन्नेमा केन्द्रित गर्ने छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक रुपमा संघले सदस्य प्राप्त गरेको जानकारी दिदै महासंघको सहकार्य गरेर ठूला लगानी कर्तालाई रामपुर ल्याउन प्रयत्नशिल रहने उनले जनाए । संघले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार–प्रसार गर्ने, यहाँका कला संस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ । आयोजकले मेलमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा राखेको र संघका सदस्य एवं स्थानीय व्यवसायीहरुलाई मेला स्थलमा सौलियतमा स्टलको व्यवस्था गर्ने समेत जानकारी दिएका छन् ।
अध्यक्ष ढकालले विगतका मेला महोत्सवको अनुभवसंगै सबैको सुझाव र सल्लाह अनुसार कसरी व्यवस्थित गर्ने भन्नेमा केन्द्रित रहने जानकारी दिए । यस पटक व्यवस्थित र मितव्ययी ढंगबाट मेला सञ्चालन गर्ने गरी तयारीको कार्य भइरहेको उनी बताउँछन् । मेला सफल बनाउन ३२ वटा उपसमिति गठन गरिएको छ । मेलामा ४ देखि ५ करोडसम्म कारोबार गर्ने लक्ष्य लिइएको छ । संघले सबैको साथ र समन्वयले संघले रामपुरलाई पहिचान दिलाउन सफल भएको र मेलालाई रामपुरको मात्रै नभइ कालीगण्डकी वेशीको साझा मेलाको रुपमा स्थापित गर्नका लागि लागिरहेको ढकालले बताएका छन् ।
रामतुलसी माविको खेल मैदानमा हुने मेलामा कृषि, हस्तकला, घरेलु तथा कुटिर उद्योग, स्थानीय खानाका परिकारलाई प्राथमिकता दिइनेछ । महोत्सवमा यस पटक खुल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता, प्याराग्लाईडिङ्ग समेत रहनेछ । छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले आफ्ना सुझाव सहितका रायहरु व्यक्त गरेका छन् । रामपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक बासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन महासंघका निवर्तमान महासचिव कृष्णप्रसाद पौडेलले गरेका हुन् ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुने मेलाको विषयमा संघले चरणबद्ध रुपमा विभिन्न सरोकारवाला संग सुझाव सङ्कलनका लागि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।
Comments are closed.