काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतवार साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
१५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउंछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्त सम्मको वासलात, २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ । साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाबाट कम्पनीको प्रवन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।
Comments are closed.