पाल्पाको बराङ्दीमा माघ १ गतेदेखि श्रीमद्भागवत महापुराण हुँदै

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिउसिबासमा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ हुने भएको छ ।

सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा मन्दिरमा नागको विराट मूर्ति एवं सत्संग हल निर्माण तथा मन्दिरको चौतर्फी विकास सहयोगार्थ महायज्ञ तथा धार्मिक महोत्सव हुन लागेको हो । मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको छ ।

बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नुुको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ धार्मिक महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक गणेशप्रसाद बस्यालले जानकारी दिए ।

मन्दिरमा ३ सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता, विष्णुु, भगवती लगायतका देवी देवताहरूको वासस्थान भएकाले भक्तजनको सेवा सुविधादेखी मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले बताए ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष एवं महायज्ञ प्रचार–प्रसार संयोजक कमलराज तिमिल्सेनाले महायज्ञलाई सफल बनाउने जिम्मेवारी मिडियाहाउस तथा पत्रकारहरुको रहेकाले सूचना तथा सञ्चारका विषयमा आवश्यक सहयोग र सहकार्य गरेर जानुपर्नेमा जोड दिए । महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटक, संगीतमय भजन कृर्तन कार्यक्रम रहेको छ ।

महायज्ञमा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रीमद भागवत महापुराण, वेद, चण्डी पाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण ,ग्रह शान्ति पुजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन, सहित पित्रीको फोटो राखी अर्पण लगायतका कार्यक्रम गरिनेछ । यस्तै महायज्ञमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संगीतमय कथा प्रवचन, भजन किर्तन देवदेवताका लीलाहरू प्रस्तुत गरिनेछ ।

महोत्सवमा पुग्ने भक्तजनले अर्पण गरेको रु.५ सय सम्म दानपत्रमा राखिनेछ । ५ सयदेखि माथि १ हजार ५ सय रुपैयाँको नगदी रसिद काटिनेछ । १ हजार ५ सय देखि ३ हजारसम्म दान गर्ने भक्तजनको लागि फूलमालासहित मञ्चबाट नाम घोषणा गरि सम्मान गरिनेछ । यसैगरी ३ हजारदेखि ५ हजारसम्म दान गर्ने भक्तजनलाई ढाकाको खादा ओढाएर सम्मान गरिने छ ।

५ हजारदेखि १० हजारसम्म दान गर्नेलाई रामनामी ओढाएर सम्मान गर्ने, १० हजार देखि २० हजारसम्म दान गर्ने भक्तजनलाई गोल्डेन फ्रेममा सम्मानपत्र सहित रुद्राक्षको माला प्रदान गरी सम्मान , २० हजारदेखि ३५ हजारसम्म दान गर्ने दानवीरलाई सम्मान सहित एकजना व्यक्तिको नाम शिलालेखमा राखिने र ३५ हजारदेखि ५० हजारसम्म दान गर्ने भक्तजनलाई भिआइपी गोल्डेन फ्रेममा सम्मानपत्र सहित दम्पतिको नाम शिलालेखमा राखिने मन्दिरका सल्लाहकार एवं जनप्रतिनिधी कृष्णप्रसाद भुसालले बताए ।

यसैगरी ५१ हजारदेखि ७५ हजारसम्म दान गर्ने दानवीरलाई ड्रागन फ्रेममा गोल्डेन सम्मानपत्र सहित दम्पति मातापिताको नाम शिलालेखमा राखिनेछ । ७५ हजार देखि १ लाख सम्म दान गर्ने दानवीरलाई भिआइपीमा गोल्डेन सम्मान पत्र सहित तीन पुस्ताको शिलालेख राखिनेछ । १ लाखदेखि १ लाख ५० हजारसम्म दान गर्ने भक्तजनलाई स्वस्तिक वाचन बाजागाजासहित सम्पूर्ण परिवारलाई सत्तलमा दानवीरको फोटो फ्रेममा राखिनेछ ।

एक लाख ५० हजारदेखि दुई लाख सम्म दान गर्ने भक्तजनलाई समितिले निर्णय गरी आजीवन सदस्यता प्रदान गरी तीन पुस्ताको नाम ताम्रपत्रमा राख्ने, २ लाखभन्दामाथि सहयोग गर्ने दानवीरलाई समितिले निर्णय गरी मानार्थ आजीवन सदस्यता पन्चेबाजा सहित नगर परिक्रमा साथै एकल पुस्ताको नाम ताम्रपत्रमा राखिने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी मन्दिर व्यवस्थापन समितिले महायज्ञमा रुद्रीको लागि ५ हजार १ सय, व्रतबन्धको लागि रु. १०, हजार, लक्ष्यबत्तीको लागि रु १० हजार चौरासी पूजा तथा तुलादानको लागि रु २५ हजार, महा आरती व्यक्तिगतको लागि २ हजा ५ सय तोकेको छ ।

यसैगरी महायज्ञमा महा आरती संस्थागत रुपमा ४ हजार ५ सय, दैनिक कर्ता हुन चाहेमा ५ हजार १ सय रुपैयाँ दैनिक प्रसादको व्यवस्थापन गर्न चाहेमा ५ हजार १ सय रुपैयाँ, ब्राह्मण भोजन गराउन चाहेमा १० हजार र दैनिक भण्डारा लगाउन चाहेमा २० हजार १ सय रुपैयाँ तोकेको छ ।

पत्रकार सम्मेलन महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश बस्यालको अध्यक्षता र पत्रकार दयाराज न्यौपानेको सञ्चालनमा भएको थियो । भगवानप्रति आस्थावान भएर आत्म शुद्ध गरी बराङ्दी घिउसिबासको सिद्धबाबा मन्दिरमा आई वरदान मागेमा प्राप्त हुने जनविश्वास अझै पनि कायम रहेको छ ।

lcci
You might also like

Comments are closed.