गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा २ सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो ।
सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ । क्लबका अध्यक्ष भोलामान गुरुङले ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे सङ्क्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताएका छन् ।
उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिवल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलोलगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ । मेलाका अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजयीले रु एक लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
त्यस्तै खुल्ला महिला भलिबलतर्फ प्रथम हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुल्ला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले रु एक लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ७० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । मेलामा गुरुङ भाषा गीतको सामूूहिक नृत्यमा प्रथम हुनेले रु ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।
प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले रु ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सभायुला युवा परिवारले सञ्चालन गर्ने ठेलो प्रतियोगिताको प्रमुख आतिथ्यता ठेलो प्रतियोगिताका पूर्वविजेता केशबहादुर गुरुङले गर्ने जनाइएको छ । पोखराबाट करिब ४० किमीको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका–१ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ ४५० घरधुरी रहेका छन् ।
ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटल दर्ता भई सञ्चालनमा रहेका छन् । त्यसैगरी, ३६ वटा घरबास सञ्चालनमा छन् । पर्यटकीययाममा १५ सयदेखि २ हजार जनासम्म पर्यटक सिक्लेसमा घुम्न आउने गरेको मादी गाउँपालिका–१ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।
सिक्लेसमा करिब ९ सय वर्षअघि देखि नै बसोबास सुरु भएको अनुमान गरिने बताउँदै उनले २ सय वर्षअघि देखि यहाँ माघे सङ्क्रान्तिका अवसरमा ठेलो हान्ने प्रचलन रहेका कारण त्यसैबेलादेखि सिक्लेस माघे सङ्क्रान्ति मेला सुरु भएको अनुमान गरिने जानकारी दिए । पछिल्लो समय सिक्लेस जाने बाटोलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तेस्रो खण्डको काम सुरु हुन लागेको उनले जनाए । काहुँखोला सिक्लेस सडकमा अहिले तस्रो खण्डको कालोपत्र गर्ने काम सुरु गर्न लागिएको उनको भनाइ छ ।
गाउँ तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । स्थानीयको सेवाका लागि चाँडो काम गर्न प्रविधिमैत्री काम थालिएको बताउँदै उनले कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधा समेत दिइएको बताए । रासस
Comments are closed.