काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ मनोनित भएका छन् । इप्पानले आफ्नो विधानमा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको हो ।
डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड र एटलस इनर्जी प्राइभेट लिमिटेडमा अध्यक्ष छन् । त्यस्तै उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको सञ्चालक समिति सदस्य हुन् ।
बुद्धभूमि नेपालले नुवाकोटमा ४.९९३ मेगावाटको लोवर तादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ चैत १० गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । एबीपी इनर्जीले नुवाकोटमै ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
ह्याप्पी इनर्जीले संखुवासभामा ४० मेगावाटको अप्पर संखुवाखोला आयोजना निर्माण गरिरहेको छ भने एटलस इनर्जीले ३०.२४ मेगावाट क्षमताको मध्य घुन्साखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।
इप्पानले ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिलाई सल्लाहकार मनोनयन गर्ने गरेको छ । इप्पानले शुक्रवार आफ्नो रजत जयन्ती समारोहको अवसरमा विविध कार्यक्रम गरेको छ ।
Comments are closed.