कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन ल्याउन सामूहिक प्रयास आवश्यक पर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश सरकारले मात्र चाहेर विमानस्थलबाट नियमित उडान हुन नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले भने, “पर्यटन प्रवद्र्धन सरकारको पहिलो प्राथमिकताको क्षेत्र हो । भौगोलिक अवस्थाका कारण सबैतिर सुविधासम्पन्न सडक पु¥याउनु चुनौतीपूर्ण छ, मौसम व्यवस्थापनका कारणले समयमा यात्रु गन्तव्यमा जान सकिरहनुभएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण बनेको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा यथाशीघ्र विमानस्थल सञ्चालन गरेर अन्तर्राष्ट्रिय पर्यटकलाई सुविधाजनक कनेक्टिभिटीको सुविधा पु¥याउने पहल गरिरहेका छौँ ।”
पोखरा र समग्र गण्डकी प्रदेश पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन हुँदै गएको बताए । उनले यहाँका पर्यटकीय क्षेत्र पहिचान गर्दै सम्भावना अभिवृद्धि गर्ने कार्यमा प्रदेश सरकार निरन्तर लागिरहेको उल्लेख गरे ।
“पोखरा र गण्डकी प्रदेशमा बढी विदेशी पर्यटकको आगमन हुन्छ । यसलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने र बढीभन्दा बढी विश्वका पर्यटकलाई प्रदेशमा भित्र्याउने योजना छ”, मुख्यमन्त्री पाण्डेले भने । पर्यटकको सङ्ख्याभन्दा पनि पर्यटकबाट हुने आम्दानी महत्वपूर्ण रहेको उनी बताउँछन् । गण्डकीका मुक्तिनाथ, मनकामना, त्रिवेणीधामलगायत धार्मिकस्थलको प्रवद्र्धन गर्दै धार्मिक पर्यटक भित्र्याउन र नयाँ धार्मिक पर्यटकीय क्षेत्रको पहिचानका लागि काम गरिने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाले गण्डकी प्रदेशको सम्भावना, समस्या र समाधानका उपायहरूको खोजी गर्ने उद्देश्यले ‘गन्तव्य गण्डकी’ कार्यक्रमको आयोजना गरिएको बताए । उनले प्रदेशको विकासका लागि योजनाबद्ध र सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा राजनीति र पर्यटन नीति, साहसिक यात्रा, स्वप्निल गन्तव्य, शिक्षा, स्वास्थ्य र रोजगार तथा सङ्घीयताका विषयमा विषय विज्ञहरूका बीचमा बहसमूलक छलफल हुने आयोजकले जनाएको छ ।
Comments are closed.