पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
मेलाको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकीका पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए ।
निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।
पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा पोउवा संघले मेला आयोजना गरेको हो । मेलामा सातवटै प्रदेशका उत्पादनहरुको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । सूचना प्रविधिबारेको जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको भनाइ छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए । गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत् हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको पनि सुनाए । पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले नै मेला आयोजना गरेको बताए ।
उनले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य पं्राप्तिमा समर्पित रहेको पनि प्रष्ट पारे । अध्यक्ष कार्कीले सरकारले हालैमात्र अध्यादेशमार्फत् निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु संवोधन गरेको सरकारले नागरिकहरुले अपेक्षा गरेजस्तै आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको लागि काम गरोस् भन्ने नै हाम्रो चाहना रहेको सुनाए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । ‘हामी स्थिर सरकार चाहन्छौँ। । नेपालको कुल ग्राहस्थ उत्पादनमा ८० प्रतिशतको योगदान गर्ने निजी क्षेत्र प्रताडित भइरहेको छ, अहिले बजार सुस्ताएको छ,’उनले भने,‘ नेपाल र गण्डकी प्रदेश सरकारले अर्थतन्त्र उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’ नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग, व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए । क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् ।
मेलाको समापन समारोहपछि सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । समुद्घाटनअघि विभिन्न आमा समूह, विद्यार्थीहरु, सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले ¥याली र झाँकी पनि प्रस्तुत गरेको सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । उनका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, घनश्याम रिजाल,कमला गैरे, सविना गुरुङ सांगीतिक प्रस्तुति रहनेछ ।
Comments are closed.