रामपुर (पाल्पा) । लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समिक्षा तथा छलफल कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाले लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समिक्षासहित छलफल गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को योजना कार्यक्रमको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण र आर्थिक वर्ष ०८१/०८२ को योजना कार्यक्रमको लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समिक्षासहित छलफल भएको छ । गत आर्थिक वर्षमा सञ्चालन भएका योजनामध्ये लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विभिन्न सुचकको आधारमा भए गरेका कार्यक्रम र यसको समिक्षा गरेको हो । जसअन्तर्गत आ.व. ०७९/०८० मा भन्दा आ.व. ०८०/०८१ मा सञ्चालन भएका योजना तथा कार्यक्रम लैङ्गिक समानता र सामाजिक समावेशीकरण बढि भएको पाइएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विभिन्न सुचकमा प्राप्त गरेका अंकका आधारमा आ.व. ०८०/०८१ मा ९१.५ अंक प्राप्त गरेको छ । आ.व.०७९/८० मा ८४ अंक प्राप्त गरेको थियो भने ०८०/०८२मा ७.५ अंक बढेर ९१.५ अंक प्राप्त गरेको छ । यसका आधारमा रामपुर नगरपालिकामा साञ्चालन तथा कार्यान्वयन भएका योजना तथा कार्यक्रम लैङ्गिक समानता र समाजिक समावेशीकरणमुखी देखिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको ५ वटा सुचकमध्ये नीति कानुन योजनामा १९, संस्थागत व्यवस्थामा १८, मानव संसाधन तथा क्षमता विकासमा १८.५, सेवा प्रवाहमा १८, सुशासन तथा उत्तरदायित्वमा १८ अंक सहित प्राप्त अंकको आधारमा बढी लैङ्गिक समानता र समाजिक समावेशीकरणमुखी बन्दै गएको छ । यस्तै यस आर्थिक वर्षको बजेट लैङ्गिक उत्तरदायीमा सहयोगी देखिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था पश्चात संविधानले प्रदत्त गरेका हरेक नागरिकको अधिकारलाई पूर्ण रुपमा प्रदान गर्नका लागि नगर सरकार प्रतिबद्ध भएर लागेको नगर प्रमुख रमणबहादुर थापाले बताए । सबैलाई समान र समतामूलक अधिकार प्रदान गर्नका लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरणयुक्त बजेट विनियोजन तथा योजना निर्मण गर्दै आएको र आगामी दिनमा अझ बढि लैङ्गिक उत्तरदायी बजेट विनियोजन गरी योजना सञ्चालन गरेर समृद्ध नगरपालिका निर्माणका लागि प्रतिबद्ध भएर लाग्ने नगर प्रमुख थापाले जनाए ।
सार्वजनिक वित्त व्यवस्थान परियोजना पाल्पाका संयोजक सुर्य किसनले नगरपालिकाले सञ्चालन गरेका योजना र कार्यक्रमका आधारमा अंक प्राप्त गर्ने भन्दै यसलाई अझ बढाउन आग्रह गरेका छन् । यसका लागि सूचकको आधारमा योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछन् । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा अनुसार धेरै काम भएपनि कतिपय कागजी प्रक्रिया पूरा गर्न नसक्दा अंकका आधारमा केही कमजोर देखिएपनि लैंगिक उत्तरदायी वजेट विनियोजन भई काम भएको महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले बताइन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख पुजा परियारले गरेकी हुन् । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारी लगायत सहभागी थिए ।
Comments are closed.