काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।
इनड्राइभले बाढी पहिरो प्रभावित परिवारका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न रु.३३ लाख ५५ हजार ५ सय (२५ हजार अमेरिकन डलर) सहयोग गरेको हो ।
पीडितको आवश्यकता पुरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर आवास निर्माण गरिरहेको हो । नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशीगाउँको वार्ड नं.१२ मा २ वटा गरी ५ वटा आवासहरु निर्माण भइरहेका छन् । यी आवासहरु जाडो गर्मी बाह«ै महिना बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरु टिकाउ र दिगो रहेका छन् ।
हरेक घरमा २ वटा बेड रुम, अगाडिपट्टी बार्दली, शौचालय, किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरुमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ । घर निर्माणको साथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारलाई कम्बलहरु पनि प्रदान गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले हामी समुदायका मानिसलाई सहयोग गर्ने र आवश्यकता अनुसार दीगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्दै आएको बताए । हामी सञ्चालन हुने ठाउँहरुमा सकारात्मक प्रभाव पार्नुपर्छ भन्ने हाम्रो विश्वास रहेको उनको भनाइ छ ।
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३० को अन्त्यसम्म १ अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको जनाए । प्राकृतिक प्रकोपबाट प्रभावित परिवारलाई अस्थायी बसोबास मात्र नभएर उनीहरुले आफ्नो जीवन नयाँ तरिकाले शुरुवात गर्न सक्ने व्यवस्था गरिएको उनी बताउँछन् ।






Comments are closed.