घर बहाल कर घरधनीबाटै लिन व्यवसायीको माग

पोखरा । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीले घर बहाल कर घरधनीबाटै लिन आग्रह गरेका छन् ।

सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको शनिबार आयोजित १३ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने व्यवसायीले घर बहाल कर घरधनीले घर बहालमा लगायबापत तिर्नुपर्ने कर भएकाले त्यो कर व्यवसायीलाई नतिराउन आग्रह गरेका हुन् । उनीहरुको एउटै आवाज थियो,‘घर बहाल कर हामीलाई तिराईंदै आएको छ । तर घर बहाल कर तिर्ने जिम्मेवारी घर धनीको हो । त्यसैले त्यो कर घरधनीलाई नै तिराईयोस् । यसो गर्नसके मन्दीको असरले समस्यामा परेका हामी व्यवसायीलाई यसले राहत दिनेथियो ।’

कार्यक्रममा बोल्दै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले घरबहाल करको समस्या सुल्झाई दिन स्थानीय सरकारलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीतर्फ संकेत गर्दै उनले भने,‘व्यवसायी अहिले मन्दीको मारमा छन् । त्यसमाथि घरधनीसँग लिनुपर्ने घरबहाल कर महानगरले व्यवसायीलाई तिराईरहेको छ । यसले मन्दीको पीडामा रहेका व्यवसायीलाई थप पीडा दिएको छ । त्यसैले यसको समस्या सुल्झाईदिनु प¥यो वडाध्यक्ष ज्यू ।’

समितिका निवर्तमान अध्यक्ष बालकृष्ण भण्डारीले व्यवसायीको पीडा बुझेर कदम चाल्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । व्यवसायी कर तिर्न तयार भएको तर घरधनीले तिर्ने कर व्यवसायीलाई जबरजस्ती नथोपर्न उनको आग्रह छ । समितिका सल्लाहकार नरहरी अधिकारीले काठमाडौंका मेयर बालेन्द्र शाहले घरबहाल कर घरधनीबाटै असुल्ने गरेको भन्दै पोखरामा पनि त्यस्तै गर्न आग्रह गरे । काठमाडौंका मेयर बालेनले गरेर देखाए,उनले भने,‘पोखराका मेयरलेचाहिं किन नसक्ने ? गर्नुप¥यो ।’

समितिका बरिष्ठ उपाध्यक्ष छविलाल गौतमले वैज्ञानिक कर लागु नगर्दा व्यवसायी मर्कामा परेकोबताए । उनले करकै कारण व्यवसायी बिस्थापित हुने खतरा रहेको भन्दै त्यसतर्फ सचेत भएर घर बहाल कर घरधनीलाई नै तिर्न लगाएर थोरै भएपनि व्यवसायीलाई राहत मिल्ने विचार व्यक्त गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले राज्य कमजोर हुँदा घरधनीले तिर्नुपर्ने कर व्यवसायीले तिरिरहनु परेको बताए । राज्यसँग नत घर बहाल तथ्याङ्क छ,नत व्यवसायीको नै,उनले भने,‘यस्तो राज्य कमजोर भएर भएको हो ।’

पोखरा उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य तथा कस्मेटिक व्यवसायी संघ कास्कीकी अध्यक्ष दुर्गा बरालले व्यवसायी बचाउने अभियान वडाले गर्नुपर्ने बताइन् । घर बहाल कर छुट दिएर त्यसको शुरुवात गर्न उनको आग्रह छ । पोखरा–४ वडाध्यक्ष देवकृष्ण पराजुलीले घर बहालमा लिने बेलामा घरधनी र व्यवसायीबीच हुने सम्झौताका कारण समस्या आउने गरेको बताए । उनले भने,‘तपाईंहरु घरधनीको तल परेर सम्झौता गर्नुहुन्छ । गरेको सम्झौतापनि वडामा प्रमाणित गर्नुपर्छ तर कहिल्यै गर्नु भएको छैन । प्रमाणित नभएको सम्झौता पत्रले पछि कानूनी मान्यता नपाउँदा तपाईंहरु न्याय पाउनबाट बञ्चित हुनुहुन्छ ।’

उनले घरधनीसँगको सम्झौता अनिवार्य नेपाली कागजमा गर्न र त्यो वडाबाट प्रमाणित गराउन आग्रह गरे । साथै उनले सर्वेश्वर मार्ग–पराजुली मार्गको व्यवसाय प्रवद्र्धन कार्यक्रम अबदेखि रातो कितावमा राखेरै गर्न आफू तयार रहेको बताए । साथै उनले डिजिटल मार्केटिङ सम्बन्धि सीप सिकाएर व्यवसाय प्रवद्र्धनमा सघाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा टिकटकबाट व्यवसाय प्रवद्र्धन गरेर भाइरल भएका कुर्थी घरका सञ्चालक शंकर दाहाललाई उत्कृष्ट व्यवसायी र व्यवसायीका छोराछोरीमध्ये दश जोड दुई कक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने प्रनिका ईम्पोरियमका सञ्चालक प्रकाश श्रेष्ठका छोरा कृष श्रेष्ठलाई उत्कृष्ट विद्यार्थीका रुपमा सम्मान गरिएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.