बालोदय माविमा इन्टेलेक्ट स्फेयर कार्यक्रम सम्पन्न

काठमाडौं । पोखरा १७ बिरौटामा रहेको बालोदय माध्यमिक विद्यालयको ३७ औं स्थापना दिवसको अवसरमा दुई दिवसीय बालोदय इन्टेलेक्ट स्फेयर २०२५ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलादेवी पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्द पोख्रेल रहेका हुन् । प्रमुख अतिथि निर्देशक गोविन्द पोख्रेलले अभिभावक, विद्यार्थी, शिक्षकको संयोजनले विद्यालयले प्रदान गर्ने वातावरण र सिकाइलाई प्रभावकारी बनाउने अनुकुल वातावरणलाई बालोदयले आत्मसात् गरेकोमा धन्यवाद दिएका छन् ।

शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारीले विद्यालयले हरेक विधामा उत्कृष्टता हासिल गर्दै गइरहेको र आगामी दिनमा पनि यस्ता कार्यलाई अघि बढाउन आग्रह गरेका छन् । प्राचार्य टेकनाथ पौडेलले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै विद्यार्थीलाई सिकाईको अनुकुल वातावरण प्रदान गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने र समयको माग अनुसारको सिकाईको वातावरण प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताए ।

वडाध्यक्ष राधिका शाही योगीसँग राजनीतिमा महिला सहभागिता र चुनौतीको विषय, डा. नवराज पौडेलसँग स्वस्थ मुटु स्वस्थ जीवनको विषय, सदिस पुन मगरसँग मानव सेवा किन ? भन्ने विषय र पूर्व विद्यार्थी सुशील ढुङ्गानासँग पूर्व विद्यार्थीसँग अन्तरङ्ग संवाद विषयमा उनीहरुकै विषयसँग सम्बन्धित भई विद्यार्थीहरु अनुकूल पौडेल, शरदचन्द्र खाण, विनिता पौडेल, पूर्णिमा पौडेल, अनुस्का लामिछाने, लक्ष्मी पौडेल, अमिसा ढकाल, मञ्जिल पौडेल, सौरभी पौडेल, आयुष पौडेल, सुजल के.सी र दीक्षा पौडेलले अन्तरसंवाद गरेका छन् । विद्यार्थीले विविध क्षेत्रको ज्ञान र प्रेरणा पाऊन् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा स्टीममा आधारित शैक्षिक प्रदर्शनी, प्रेरणात्मक संवाद, विद्यार्थीद्वारा निर्मित चित्रकला प्रदर्शनी, पुस्तकमेला एवम पुस्तक समिक्षा, छात्रवृत्ति पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम जस्ता विविध विधाहरू रहेका थिए । स्टीममा आधारित शैक्षिक प्रदर्शनी अन्तर्गत कार्यक्रमको पहिलो दिन कक्षा ७ देखि १० सम्म र दोस्रो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीले निर्माण गरेका शैक्षिक सामग्रीहरु प्रदर्शन गरिएको छ भने सो सामग्रीको अभिभावक तथा सहभागीले अवलोकन गरेका छन् ।

कार्यक्रमको आकर्षक विधा मध्येको पुस्तक मेलामा धेरैको आकर्षण बढेको पाइएको छ । बुकमार्ट पोखरासँगको सहकार्यमा सञ्चालित पुस्तक मेलामा विविध विषयसम्बन्धी पुस्तकहरू प्रदर्शन तथा बिक्री भएका छन् । विद्यार्थीमाझ पुस्तक पढ्ने बानी बसाउँदै पठन सँस्कृतिको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । विद्यालयले तेस्रो त्रैमासिक परीक्षामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थी र तिनका अभिभावकलाई छात्रवृत्ति सम्मान पुरस्कार वितरण गरिएको छ । साँस्कृतिक विधा अन्तर्गत विद्यार्थीले भजन गाउनुका साथै मारुनी तथा कुमारी नृत्य समेत प्रदर्शन गरी मनोरञ्जन प्रदान गरेका छन् ।

कार्यक्रमको दोस्रो दिन सरस्वती पूजा, अक्षरारम्भ लगायत धार्मिक एवम् सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको छ । विद्यालयको तर्फबाट मानव सेवा आश्रमलाई नगद २५ हजार ५५५ सहयोग गरिएको छ । कार्यक्रम सञ्चालन कक्षा ११ र १२ का संयोजक टंकप्रसाद पौडेलले गरेका हुन् ।

You might also like

Comments are closed.