काठमाडौं । संयुक्त निर्माण व्यवसायी मञ्चले निर्माण उद्योगका विद्यमान समस्या समाधान सम्बन्धमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवडालाई ध्यानाकर्षण गराएको छ ।
मञ्चका अध्यक्ष बलिभद्र रानाको नेतृत्वको प्रतिनिधिमण्डलले समग्र अर्थतन्त्रको अवस्थालाई उकास्न पनि निर्माण उद्योग चलायमान हुनु जरुरी रहेको भन्दै निर्माण उद्योगको समस्या समाधानका लागि गम्भीर ध्यानाकर्षण गराएको हो । जवाफमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर खतिवडाले निर्माण उद्योगको समस्या हल गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक तयारी शुरु भइसकेको जानकारी दिए ।
संयुक्त निर्माण व्यवसायी मञ्चमा प्रमुख राजनीतिक दलमा आस्था राख्ने संस्थाहरू नेपाल निर्माण उद्योग परिषद, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठन आबद्ध छन् ।
गत साता निर्माण व्यवसायीको छाता संस्था नेपाल निर्माण व्यवसायी महसंघको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर खतिवडाले निर्माण उद्योगको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।
Comments are closed.