काठमाडौं टोस्टमास्टर्स क्लबले ३४ औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं । काठमाडौं टोस्टमास्टर्स क्लबले ३४ औं वार्षिकोत्सव मनाउने भएको छ । काठमाडौं ठमेलमा रहेको फेयरफिल्ड म्यारियट होटलमा माघ २६ गते शनिबार क्लबले आफ्नो ३४ औं वार्षिकोत्सव मनाउन लागेको हो ।

‘३४ इयर्स अफ म्याजिकः अ टोस्ट टु लर्निङ लिडरसीप लाफ्टर एण्ड लिगेसी’ थिममा सञ्चालन हुने वार्षिकोत्सवमा मुख्य वक्ताको रूपमा मिस नेपाल अर्थ २०२४ सुमना केसीको उपस्थिति रहनेछ । यस्तै कार्यक्रममा फिचर्ड वक्ताको रूपमा विशिष्ट टोस्टमास्टर रञ्जीत आचार्य, दिप्ती आचार्य, नेहा अमात्य, ईयुडेन कोइराला र जोन्सन् श्रेष्ठको उपस्थिति हुनेछ । कार्यक्रममा सहभागी हुन १५ सय रूपैयाँ शुल्क तोकिएको छ ।

कार्यक्रममा ८० देखि १०० जनासम्म सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सिकाइ, नेटवर्किङ, गेम्स र मनोरञ्नात्मक लगायतका गतिविधि हुनेछन् । यो कार्यक्रम विशेषगरी नेतृत्व विकास र पब्लिक स्पीकिङमा रूची हुनेका लागि उपयोगी हुनेछ । सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो । दक्षिण एशियामै पुरानो टोस्टमास्टर्सको रूपमा समेत काठमाडौंलाई लिइन्छ ।

टोस्टमास्टर्स अमेरिकाबाट सुरू भएको गैरनाफामुलक संस्था हो । हाल विश्वका १५० देशमा फैलिएको छ । विश्वभर १४ हजार बढी टोस्टमास्टर्स क्लबहरू छन् । नेपालमा मात्रै ६० बढी क्लबहरू रहेका छन् । विशेष गरी सहयोगी र सकारात्मक वातावरणमा नेतृत्व कला तथा वक्तित्व कला सिक्ने सिकाउने थलोको रूपमा टोस्टमास्टर्स प्रख्यात छ ।

You might also like

Comments are closed.