सुशीला रेग्मी/रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा आयोजना भएको क्लबस्तरिय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । भलिबल कपको उपाधि जित्दै नेपाल पुलिसले नगद रु २ लाख २२ हजार २२२ सहित साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । एपिएफ क्लब भने उपविजेता बनेको छ । पुलिसले २५–२१, २५–१२, २५–२२ को जित निकालेको थियो । त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हात पारेको छ भने सान्त्वना निस्दी भलिबल क्लब भएको खेल संयोजक कमल रानाले बताए ।
तृत्तीय स्थान छनौटका लागि भएको खेलमा त्रिभुवन आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो, तेस्रो र चौथो सेट आर्मीले २५–२१, २५–१९ र २५–१९ सेटले हात पारेको थियो भने निस्दीले दोस्रो सेट २५–१९ अंकसहित हात पा¥यो । प्रतियोगितामा उपविजेता समूहले नगद १ लाख ५५ हजार ५५५, तृत्तियले रु १ लाख १ हजार १११ र सान्त्वना हुने समूहले रु ५५ हजार ५५५ सहित साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप क्लबस्तरीय भलिबल खेल सञ्चालन गरिएको हो । विभागिय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लबले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लबका रेशम छन्त्याल, उत्कृष्ट डिफेण्डर नेपाल एपीएफ क्लबका विनोद चन्द, उत्कृष्ट सर्भर पुलिस क्लबका पहल गहतराज, उत्कृष्ट ब्लकर पुलिस क्लबका सफल विक, उत्कृष्ट सेटर नेपाल एपीएफ क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट र उत्कृष्ट कोच पुलिस क्लबका चन्द्र कुँवर घोषित भए ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल संघको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल संघको समन्वयमा गत माघ २१ गते देखि शुरु भएको भलिबल कप शनिवार सकिएको छ । विजयी समूहलाई लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुर नगर प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।
यहाँ आयोजित व्यापार मेलाका अवसरमा सांस्कृतिक कार्यक्रम तथा व्यापार व्यवसाय प्रवद्र्धन मात्र नभइ खेल क्षेत्रको विकास गर्न खेलकुदका गतिविधिलाई पनि सञ्चालन गर्दै आइरहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । रासस
Comments are closed.