व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यकता : रामपुर नगर प्रमुख थापा

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रजघराले आफ्नो स्थापनाका ६२ औँ वार्षिक उत्सवको अवसरमा बोल्दै नगर प्रमुख थापाले विद्यालयले मानिसको जीवनशैली संग सम्बन्धित व्यवहारिक र नैतिक शिक्षा दिनुपर्ने बताएका हुन् ।

नैतिक शिक्षाको अभावमा पछिल्लो समय हरेक क्षेत्रमा वितृष्णा, निरासा र नकारात्मक पक्ष हाबि हुँदै गएको उल्लेख गर्दै नगर प्रमुख थापाले नगरपालिका भित्रका विद्यालय भौतिक रुपमा सम्पन्न भएको भन्दै सुविधा सम्पन्न भौतिक संरचनाको सदुपयोग गर्दै समाज परिवर्तन र विकास गर्न सक्ने खालको दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका छन् । विद्यार्थीहरुको ईच्छा र चाहाना अनुसार विद्यालय शिक्षा प्रदान गर्न सके मात्र विद्यालय शिक्षा प्रभावकारी हुने उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्मान सांसद युवराज खनालले शैक्षिक गुणस्तर वृद्धिसंगै गुणस्तरीय शिक्षा प्रदान गरेर अझ विद्यालयको महत्व र प्रभाव बढाउन आवश्यक रहेको बताए । वडा नं.३ का वडाध्यक्ष दामोदर पाठकले विद्यालयले स्थापनाकाल देखि यस क्षेत्रको शैक्षिक उन्नयनका लागि पु¥याएको योगदानको चर्चा गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन् ।

कार्यक्रममा रामपुर नगरपालिका नगर शिक्षा समितिका सदस्य तथा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विभिन्न विद्यालयमा विद्यार्थी संख्या घट्नु चुनौतीको रुपमा रहेको भन्दै जनसंख्या घट्दा यो समस्या आएको उल्लेख गरेका छन् । विद्यालयका शिक्षक प्रतिनिधि कृष्णकला भण्डारीले पेशा र विद्यार्थीहरुको उज्वल भविष्यलाई प्राथमिकता दिएर अध्यापन गर्दै आएको बताइन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत र लेखापाल सुन्दर विकले २ करोड १० लाख ९७ हजार ९ सय ४९ रुपैयाँ बराबरको आर्थक प्रतिवेदन प्रस्तुत गरेका छन् । विद्यालय व्यवस्थापन समितका अध्यक्ष उमनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक विजयकुमार अधिकारी र सञ्चालन शिक्षक ध्रुव पोखरेलले गरेका हुन् ।

कार्यक्रमको अवसरमा भूपू शिक्षक अक्षयकोषदातालाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा विद्यार्थीले रमाइलो साँस्कृतिक प्रस्तुति देखाएका थिए । विद्यालयले माघ २९ गते देखि विविध कार्यक्रमको आयोजना गरी मनाएको वार्षिकोत्सवको शुक्रबार समापन गरिएको हो ।

 

You might also like

Comments are closed.