नेपाली बजारमा भित्रियो आरजेडएमका १५ र १६ सिटर ईभी भ्यान 

काठमाडौं । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाडच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ मिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले सयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् ।

इंफाइभ (इं५) सिरिजको १५ सिटर ईभी भ्यानमा ५३.५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन व्याट्री प्रयोग गरिएको छ । जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिएको पाइन्छ । डब्लुएलटीपी अनुसार यसको रेन्ज ३०० किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिक पावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने ३०० एनएमको टर्क छ ।

त्यसैगरी १६ सिटर आरफाइभ (आर५) मोडलमा अझै फराकिलो वडी सहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन व्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दावी गरिएको छ । यसमा १२० किलोवाटको पिक पावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम छ ।

नयाँ प्रविधि अनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरादेखि काठमाडौंसम्म गरिएको परीक्षणमा यसले फुल चार्ज गर्दा ५१ प्रतिशत चार्ज बाकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । १८० एमएम भन्दा धेरै ग्राउन्ड क्लियरेन्स सहितका विशेषता भएको यो ईभी भ्यान लक्जरियस समेत भएकाले लामो यात्राका लागि उपयोगी हुन्छ ।

नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचना समेत नेपाली सडक सुहाउदो बनाइएको छ । हाल जेड४, आर४, आर५, आर६ र के सिरिजमा विशेष गरी विजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी साधन कम्पनीले उत्पादन गरिरहेको छ ।

चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आरजेडएम ब्रान्डका सवारी साधन विक्री वितरण भइरहेका छन् । यसैगरी ५ देशमा एसेम्बली र सीकेडी प्लान्ट रहेको छ । शाडच आरजेडएम अटो सन् २०१६ मा चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो। यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा करिव ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराज माज्दा ब्रान्डका सवारी साधनमार्फत अटोमोवाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारी साधन र अन्य अटोमोवाइल सम्वद्ध सामग्री विक्री वितरण गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फिलट ग्रुपहरुमा हाल यो ग्रुपले हजारौ सवारी साधन बिक्री गरिसकेको छ ।

हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पाट्र्स ल्याउने कार्य समेत अगाडि बढेकोले ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि कुनै समस्या नहुने दाबी गरिएको छ ।

 

You might also like

Comments are closed.