काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप– २०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत ७ वर्षदेखि वितरण हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई डिजिटल युगमा सफलता हासिल गर्न सीप प्रदान गर्दै नेपाललाई विश्वव्यापी सूचना प्रविधि क्षेत्रको अग्रस्थानमा पु¥याउन योगदान दिने विश्वास व्यक्त गरेका छन् । क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार यो कार्यक्रममा यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । ‘नेसनल आईसीटी स्कलरसिप’ ले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्ने अध्यक्ष पाण्डेले बताइन् । यस्ता कार्यक्रमले कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पु¥याउने उनी बताउँछिन् ।
देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बताए । साथै, फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।
छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थाहरूलाई सार्वजनिक–निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई. जालानको विश्वास छ । सूचना प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीका लागि ठूलो अवसरको रूपमा रहेको नेसनल आईसीटी स्कलरसिप – २०८१ ले डिजिटल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान दिने उनको विश्वास छ ।
क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कुल २ करोड १३ लाख एक हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदन क्यान महासंघको वेबसाइट (scholarship.can.org.np) वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट (www.lbef.org) मार्फत अर्थात् आउँदो फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ ।
छात्रवृत्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि क्यान महासंघले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ । जसमा सह–संयोजक उपाध्यक्ष चिरञ्जीवी अधिकारी, हर्क सेटी, शेखरनाथ दुलाल, सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्य राजु कट्टेल, दिपेन्द्र पौडेल र ओमकार बस्नेत तथा लेखा समिति सदस्यद्वय सन्तोष ढुंगाना सदस्य रहेका छन् । छात्रवृत्ति संयोजक एवं क्यान महासंघका निवर्तमान अध्यक्ष पोदारले विद्यार्थीलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको बताए । इन्टर्नशिप, परियोजना तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई रोजगारीका लागि तयार पार्ने आफूहरू लागिपरेको उनले जनाए ।
छात्रवृत्ति सह–संयोजक एवं महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमै प्रविधि क्षेत्रमा दक्ष जनशक्ति तयार पारेर देशलाई सूचना प्रविधिको हब बनाउने लक्ष्य रहेको बताए । देशका दुर्गम क्षेत्रका विद्यार्थीलाई अवसर दिएर नेपालमा प्रविधि नवप्रवर्तनको वातावरण बनाउन यो छात्रवृत्ति प्रभावकारी हुने उनको धारणा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा. शालिग्राम पराजुलीले यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अवसर दिने बताउँदै नवप्रवर्तनशील प्रतिभा निखार्न र सूचना प्रविधि क्षेत्रको जनशक्ति अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
क्यान महासघका महासचिव चन्द्रविलास भुर्तेलले सूचना प्रविधिको अध्ययन र दक्ष जनशक्ति उत्पादनलाई प्रवद्र्धन गर्न यस्ता छात्रवृत्तिहरू महत्त्वपूर्ण हुने विचार राखे । डिजिटल नेपाल निर्माणको लक्ष्य हासिल गर्नका लागि दक्ष जनशक्ति तयार पार्नु आवश्यक रहेकाले यो छात्रवृत्ति कार्यक्रम त्यस दिशामा एक महत्वपूर्ण कदम हुने उनी बताउँछन् ।
Comments are closed.