२२ राइडरलाई पछि पार्दै सीएफ मोटो २५० एनकेका राइडर दनुवारले जिते रेस वार्स

काठमाडौं । सीएफ मोटो २५० एनकेका राइडर दिलिप दनुवारले रेस वार्स जितेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा शनिबार मोटर स्पोट्र्स नेपाल क्लब नेपाल र मोटो वल्र्ड नेपालले आयोजना गरेको सो रेस वार्समा २२ राइडरलाई पछि पार्दै राइडर दनुवारले रेस जितेका हुन् ।

प्रतियोगितामा केटीएम ड्युक २५० राइडर अभिनवराज मल्लले दोस्रो स्थान र केटीएम ड्युक २०० राइडर विवेक पाण्डेले तेस्रो स्थान हासिल गरेका छन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित सो प्रतियोगितामा विभिन्न बाइकमा सवार राइडरहरु प्रतिस्पर्धामा उत्रेका थिए ।

सो अवसरमा नेपालमा सीएफ मोटोको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो २५० एनके बाइकको मूल्यमा समेत रु ५० हजार कटौती गरेको घोषणा गरेको छ । सो बाइकको मूल्य पहिले रु ५ लाख ९९ हजार ९ सय भएकोमा अब यसको मूल्य रु ५ लाख ४९ हजार ९ सय तोकिएको छ ।

ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीका अनुसार अब नेपालमै यो बाइक एसेम्बल हुने भएकाले मूल्यमा समेत कमी ल्याउन सहज भएको हो । त्यसैगरी सीएफ मोटोको नेपालमा उपलब्ध नयाँ बाइक ३०० एनकेको मूल्य समेत सार्वजनिक गरिएको छ । बाइकको मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । सो अवसरमा सीएफ मोटोका ग्राहकहरुले रेस ट्र्याकमा बाइक परेड समेत गरेका थिए ।

सीएफ मोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.५ किलोवाटको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ड्युअल च्यानल एबीएस, एलसीडी डिस्प्ले, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र १५० एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता रहेका छन् । यसमा १२.४ लिटरको इन्धन ट्यांकी रहेको छ ।

You might also like

Comments are closed.