सुशीला रेग्मी/रामपुर (पाल्पा) । कक्षाकोठमा अत्याधुनिक प्रविधि जडान छ । हातमा किताव, कापी, कलम होइन । सबैका हात–हातमा स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षा देखि ठूला कक्षा सम्मका विद्यार्थीले आफ्नो पालो अनुसार कक्षाकोठामा बसेर पढीरहन्छ ।
आफै स्मार्ट ट्याब खोलेर पढ्ने सुबिधा सायद नेपालमै निजि विद्यालयमा पनि कमै होला । सामुदायिक विद्यालयमा त यस्तो प्रविधि भित्रिएको पनि छैन । पाल्पा रामपुर नगरपालिका ५ बेझाड बजार स्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थी हाल स्मार्ट ट्याबको माध्यमबाट अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयमा यस्तो प्रविधि देख्ने जोकोहीलाई लाग्छ, विदेशका विद्यालयका कक्षाकोठामा बसेर पढेजस्तो वातावरण । सोच्दै नसोँचेको प्रविधिबाट शिक्षण हुन थालेपछि यतिबेला विद्यार्थी मात्र होइन, अभिभावक, जनप्रतिनिधि, स्थानीय सबैको ध्यान विद्यालयले तानिरहेको छ ।
एउटा कक्षाकोठाभित्र विद्यार्थीका हात–हातमा स्मार्ट ट्याबमात्र नभई रेकर्डिङ स्टुडियो, कम्प्युटर, ल्यापटप, मिक्चर, माइक्रोफोन, भिडियो क्यामेरा जस्ता प्रविधि जडान छ । सो प्रविधि रेडियो र टेलिभिजन, रेकर्डिङ स्टुडियोमा देखिन्छ । तर यहाँको विद्यालयमै एउटै कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान गरेर धमाधम शिक्षण कार्य भइरहेको छ । यो कार्य देख्दा विदेशस्थित ठूला–ठूला विश्वविद्यालयमा पढेजस्तो लाग्ने गर्दछ ।
समयानुकुल भित्रिएका प्रविधिलाई अवलम्वन गर्दै विद्यालयले अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा (आईसिटी कक्षाकोठा) निर्माण गरेर विभिन्न उपकरण जडान गरी पठनपाठन गरिरहेको छ । विदेशमा पढाई हुने प्रविधि आफ्नै विद्यालयमा निर्माण भई पढ्न पाउनु नै हाम्रो लागि ठूलो अवसर रहेको बताउँछिन्, छात्रा विविशा घिमिरे । उनी आफैले स्मार्ट ट्याबबाट पढाईसंग सम्बन्धित नयाँ कुरा खोजेर जानकारी लिने गर्छिन् ।
“सबै विद्यार्थीको घरमा कम्प्युटर, ल्यापटप जस्ता विभिन्न प्रविधिको सुबिधा हुदैन, सबै विद्यार्थी प्रविधिसंग नजोडिन सक्छन्, विद्यालयमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठाले हामीलाई नयाँ ज्ञान सीप सिक्ने वातावरण मिलेको छ, यसले प्रविधि र विद्यार्थीको सम्बन्ध नजिक बनाएको छ” उनले भनिन् ।
हिजोका दिनमा फुर्सदको समय विद्यार्थीहरु एकापसमा कुराकानीमा समय बिताउने गर्थे भने अहिले खाली समय मिल्ने बित्तिकै आईसिटी कक्षाकोठामा जाने र प्रविधिमै ध्यान केन्द्रित हुन थालेको छ । साना कक्षामा पढ्नेदेखि ठूला कक्षामा पढ्ने विद्यार्थी आईसिटी कक्षामा बसेर पढ्न पाउँदा औधी हर्षित हुन्छन् । यहाँको सुबिधा सम्पन्न प्रविधियुक्त कक्षाकोठाको यत्रतत्र चर्चा मात्र नभई अहिले अध्ययन अवलोकन गर्न आउनेको उपस्थिती बढ्दो छ ।
प्रविधिको प्रयोगले पठनपाठनमा सक्रियता बढाउने र आफूलाई दैनिक केही न केही नयाँ कुरा सिक्न र खोज्न मन लाग्ने गरेको छात्र सन्देश पोखरेलले आफ्नो अनुभव सुनाए । यहीँ प्रविधि सिक्नका लागि बाहिर धेरै रकम खर्च गर्नुपर्छ, हाम्रो गाउँघरमा त चाहेर पनि सिक्न पाइने सुबिधा छैन तर हामीले विद्यालय तहमा नै आफ्नै पढ्ने महत्वपूर्ण अवसर प्राप्त गरेको उनले बताए ।
प्रविधियुक्त शिक्षाले पठनपाठनलाई सहज मात्र नभई विद्यार्थीलाई केही न केही नयाँ कुरा सिक्न, खोज्न र जानकारी लिन अभ्यस्त बनाएको बताउँछिन्, छात्रा अनिशा श्रेष्ठ । शिक्षकले पढाउँदै गर्दा पाठसंग सम्बन्धित कुराहरु गुगलबाट खोजेर जानकारी लिने गर्दा सिकाई छिटो बुझिने र सम्झन पनि सहज भएको अनुभुती गरेको उनले सुनाइन् ।
कतिपय विषयवस्तु सैद्धान्तिक शिक्षणले मात्रै बुझाउन नसकिने खालको हुनाले प्रयोगात्मक तरिकाबाट विद्यार्थीलाई बुझाउनुपर्ने भएकाले प्रविधिको प्रयोग गरेर शिक्षण गर्न थालेपछि विद्यार्थीले छिटो बुझ्ने र नयाँ कुरा सिक्न जागरुक हुने गरेको विज्ञान शिक्षक राजन घिमिरे बताउँछन् । पाठसंग सम्बन्धित कतिपय विषयवस्तु प्रयोगात्मक रुपमा प्रविधिको प्रयोग गरेर देखाउनुपर्ने हुँदा शिक्षण कार्यका लागि सूचना प्रविधिको प्रयोग अति अपरिहार्य रहेको उनको अनुभव छ ।
पूर्व बालविकास तह (मन्टेश्वरी) देखि सबै विद्यार्थीलाई प्रयोग हुने गरी कक्षा सञ्चालन गरिएको छ । कक्षा ६ देखि १० सम्मका कम्प्युटर विषय, कक्षा ९ र १० का विद्यार्थीका लागि कम्प्युटर मात्र नभई सबै विषय पठनपाठन भइरहेको छ । साना कक्षाका विद्यार्थीलाई पनि पालैपालो नयाँ प्रविधिबाट पढाउने, सिकाउने कार्य चलिरहेको छ । हाल ५० जना विद्यार्थीले एकै पटक बसेर स्मार्ट ट्याबमा पढ्न मिल्ने व्यवस्था छ ।
मोनिटरिङ, भिडियो क्यामेरा, प्रिन्टर, ल्यापटप, माइक्रोफोन, मिक्चर, रेकर्डिङ स्टुडियो, सम्पादन कक्षको छुट्टै व्यवस्था, विद्यार्थीले समूह कार्य गर्न तीनवटा प्यानलबोर्ड, एसीसहितको सुबिधा सम्पन्न कक्षाकोठा पठनपाठनमा प्रयोग भइरहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालय र आईएसिई कोरियाको साझेदारीमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा निर्माण गरिएको हो । सो प्रविधिसहितको कक्षाकोठा निर्माणका लागि नेपालभित्रका तीनवटा विद्यालय छनौटमध्ये रामतुुलसी नमुना माविसहित बाग्लुुङको ताराखोलामा अवस्थित नेपाल सेकेण्डरी विद्यालयलाई नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत प्रदान गरेपछि नयाँ प्रविधिसहितको कक्षाकोठा निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याइएको छ ।
करिव रु एक करोड ५० लाखको लागतमा तयार पारिएको विद्यालयले जनाएको छ । अघिल्लो शैक्षिक सत्रमा शुभारम्भ गरेर यस शैक्षिक सत्रबाट शिक्षण कार्यका लागि सञ्चालन भइरहेको छ । यहाँ सूचना सञ्चार प्रविधि सम्बन्धी तालिमका कार्यक्रम समेत हुने गरेका छन् । कक्षा शिक्षणको क्रममा शिक्षकले पढाउँदै गर्दा विद्यार्थीले तत्कालै प्रश्नको उत्तर गुगलबाट खोजेर आफै पत्ता लगाउने हुँदा उत्तर खोज्न किताबको पाना पल्टाइरहनु नपर्ने र प्रविधिको प्रयोगले पाठसंग जोडिएका नयाँ कुरा आफै खोजेर पत्ता लगाउन सक्ने भएको सूचना प्रविधि (आईटी) शिक्षक चन्द्रप्रकाश भट्टराई बताउँछन् ।
“रेकर्डिङ स्टुडियोमा शिक्षकले पढाएका कुराहरु रेकर्ड हुन्छन्, यदी विद्यार्थीले पढ्ने क्रममा नबुझेको, अप्ठ्यारो लागेको छ भने भोलिपल्ट आएर वा सोही दिन समय मिलाएर पुनः दोहोराएर पढ्न र बुझ्न सक्ने प्रविधि छ, गुगलमा खोजेर आफूलाई आवश्यक पर्ने नयाँ कुरा पत्ता लगाउने, नयाँ कुरा सिक्न बढी विद्यार्थी उत्सुक र जिज्ञासु बनेका छन्, मनोरञ्जन तरिकाबाट पढाइ भइरहेको छ” उनले भने ।
अहिलेको २१ औँ शताब्दिमा विदेशमा गएरपनि प्रतिष्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न, समयानुकुल आएका प्रविधिलाई अवलम्वन गरी विद्यार्थीको आवश्यकता पूरा गर्न विद्यालय सक्षम बनेको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । अन्य विद्यालयभन्दा फरक ढंगले काम गर्नका लागि सूचना प्रविधि कक्ष (आईसिटी ल्याब) मात्र नभई अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा नै तयार पारिएको उनले बताए ।
“विद्यार्थीले हात–हातमा स्मार्ट ट्याबलेट लिएर शिक्षकसंगै सिक्ने र त्यसलाई व्यवहारमा उतार्न प्रयोगात्मक शिक्षण सिकाई भइरहेको छ, नयाँ प्रविधि सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित छन्” प्रअ लम्सालले भने,–“हाम्रो नारा नै ‘सिक्नका लागि रामतुलसी’ भन्नेछ, यहाँ आउने जोकोहीले पनि अन्य विद्यालयमा भन्दा फरक केही न केही नयाँ कुरा सिक्न पाउनुहुनेछ, यो नै रामतुलसीको पहिचान हो” ।
हरियाली पार्कसहितको सफा, सुग्घर, प्रविधिमैत्री विद्यालयको रुपमा पठनपाठन भइरहेको छ । निर्धक्कसंग यस विद्यालयमा विद्यार्थी पठाएर प्रविधिमैत्री शिक्षण पद्धत्तिसंग परिचित हुनका निम्ति सबै अभिभावकलाई प्रअ लम्सालको अनुरोध छ । अभिभावकले विद्यालयप्रति गरेको विश्वास र सहयोगका कारण विद्यालय यहाँसम्म आइपुगेको उनले बताएका छन् ।
वि.सं २०७४ देखि नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा घोषणा भएको हो । तीनवटा स्कुल बस नियमित सञ्चालनमा छन् । उच्च शिक्षातर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक धारतर्फ डिप्लोमा इन एग्रीकल्चर बालीविज्ञान कक्षा सञ्चालन भइरहेको छ । आफ्नै गाउँमा बसेर प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जाने र आर्थिक भारको समस्या परेको छैन ।
पाल्पा जिल्लाकै नमुनाउन्मुख र पूरानो विद्यालयको रुपमा परिचित छ ।
यस विद्यालयमा हाल पाल्पा, स्याङजा, तनहुँ र नवलपुर जिल्लाका करिव २७ सय विद्यार्थी अध्ययनरत छन् । करिव एक सय शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयको रेखदेख र सुरक्षाका लागि सुरक्षा कर्मचारी परिचालन गरिएको छ । हाल यहाँ नेपाली, अंग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अंग्रेजी माध्यम अन्र्तगत पनि बिशिष्टीकृत रुपमा पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षा सञ्चालन भइरहेको छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भएपनि शिक्षामा अब्बल विद्यालय भएकाले खोजेजस्तै पठनपाठन हुने गरेकाले विद्यार्थी रामतुलसी पढ्ने भनेपछि उत्साहित हुन्छन् । भर्खर विद्यालय जाने उमेर समूहका बालबालिका यहाँको विद्यालय जान पाउँदा खुशी मुद्रामा निस्कन्छन् ।
निजि स्कुलको तुलनामा धेरै सुबिधा, गुणस्तरीय शिक्षा भएकाले विद्यार्थी र अभिभावकको रोजाईमा यस विद्यालय परेको छ । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमुना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । व्यवस्थित पुस्तकालयको स्थापना र प्रयोग, आधुनिक चमेनागृह सञ्चालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्याबको प्रयोग, विद्यालयको वेवसाइट र सर्भर सञ्चालन, विद्यार्थी प्रगती विवरणलाई व्यवस्थित गरिएको विद्यालयले जनाएको छ ।
नर्स शिक्षकको व्यवस्था
प्राथमिक उपचारका लागि एक जना नर्स शिक्षकको व्यवस्था गरिएको छ । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स शिक्षकको व्यवस्था गरिएको हो । प्राथमिक उपचारको सुबिधा भएपछि विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ ।
नमुना बन्यो पूर्व बालविकास कक्षा
यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमुना पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुबिधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाईमा पर्ने गरेको छ । प्रयाप्त खेलमैदान, सुबिधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालय लगायतको राम्रो सुबिधा छ । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री सबैको प्रबन्ध, विद्यालयभित्रै तयार पारिएको स्वस्थकर खाजाको व्यवस्था, पढ्दै, खेल्दै सिक्ने वातावरणले विद्यार्थी सिकाईमा जिज्ञासुु बनेका छन् ।
व्यवस्थित कम्प्युटर प्रयोगशाला
शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठुला कक्षाका विद्यार्थीलाई फरक–फरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था मिलाइएको छ । तल्ला कक्षा र माथिल्ला कक्षाका विद्यार्थीलाई छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ । विषय शिक्षकले पाठ अनुसार सम्बन्धित विषयवस्तुको बारेमा प्रयोगशालामा विद्यार्थी लगेर शिक्षण कार्य भइरहेको छ । यहाँको कम्प्युटर प्रयोगशाला नमुना खालको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई एकै कोठामा ३० वटा कम्प्युटरको व्यवस्था छ । साना कक्षामा अध्ययनरत विद्यार्थीका लागि छुट्टै कोठामा १५ वटा कम्प्युटर सिकाईका लागि व्यवस्था गरिएको छ ।
अहोरात्र खटिन्छन् शिक्षक कर्मचारी
शिक्षक कर्मचारीलाई जागिर खाने मात्रै नजरमा हेरिन्छ । यहाँका शिक्षक, कर्मचारीको खटाई देख्दा अन्य क्षेत्रका शिक्षक, कर्मचारीले केही सिक्नैपर्ने छ । सामान्यतया विद्यालयको समय विहान १० देखि ४ बजेसम्म हो, तर आवश्यकता अनुसार यहाँका शिक्षक, कर्मचारी बिहानदेखि साँझसम्म विद्यालयको शैक्षिक विकासमा अहोरात्र खटिएकै हुन्छन् । बिदाको दिन विद्यालयको लागि समय खर्चने शिक्षक, कर्मचारी कमै हुन्छन् तर यस विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी हसिँलो मुद्रामा हरेक समय विद्यालयमा उपस्थित हुने, आफ्नो जिम्मेवारीमा इमान्दार भएर काम गरिरहेका छन् । शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले साँेचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ ।
विद्यालयको इतिहास
रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चउर, बगैचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुबिधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योती प्रदान गर्न वि.सं. २०२५ मा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योती छरेको छ । अहिलेपनि हाइस्कुल भनेपछि धेरैको बुझाईमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ ।
यस्ता छन्, विद्यालयका भावी योजना
‘सिक्नका लागि रामतुलसी’ भन्ने नारालाई साकार पार्ने भावी योजनामा समावेश गरिएको छ । विद्यालयको जग्गा, खेलमैदान व्यवस्थित र घेराबार गर्ने, बालविकास कक्षालाई व्यवस्थित र थप गर्ने, शैक्षिक गुणस्तरमा वृद्धि गर्न शिक्षकको पेशागत सेवा सुविधामा वृद्धि गरी विद्यालयमा कार्य घण्टा थप गर्ने, विद्यार्थीको चौतर्फी विकास गर्ने उद्धेश्यले खेलकुद र संगीत विद्या, योग ध्यानको जनशक्ति व्यवस्था गर्ने विद्यालयले जनाएको छ । साथै सूचना र सञ्चारलाई शिक्षणमा जोड्दै जाने, भौतिक सुविधायुक्त कक्षाकोठा निर्माण गर्दै जाने, ठूलो क्षमताको शैक्षिक सभाहल निर्माण, अभिभावक शिक्षा सञ्चालन गर्ने योजनामा उल्लेख छ । अनाथ, अशक्त, जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति, सहुलियत सेवा सुविधा र क्रमशः आवासको व्यवस्था, शिक्षक कर्मचारीलाई प्रोत्साहन, प्रशंसा सम्मान जस्ता कार्यक्रम विद्यालयका भावी कार्यक्रम रहेका छन् । रासस
Comments are closed.