‘नवीनतम डेरी उत्पादन र स्थानीय किसानको जीवनस्तर सुधार्न केन्द्रित छौं’

दीपप्रसाद धमला, सञ्चालक, ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि.

नेपाल डेरी एसोसिएसनका केन्द्रीय प्रथम उपाध्यक्ष दीपप्रसाद धमला लामो समयदेखि डेरी क्षेत्रमा संलग्न छन् । उनै धमलाको नेतृत्वमा पछिल्लो समय ‘ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि.’ को स्थापना भएको छ । यसैक्रममा धमलासँग उद्योग स्थापनाको उद्देश्य लगायत डेरी क्षेत्रका विविध विषयमा केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानीः

‘ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि.’ को सुरुवात गर्नुको मुख्य उद्देश्य के हो ?

ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि.मार्फत नेपाली डेरी क्षेत्रमा थप योगदान पुर्याउने उद्देश्यसहित हामीले नयाँ यात्राको सुरुवात गरेका छौं । जब हामीले नेपालमा डेरी क्षेत्रमा रहेका चुनौतीहरुलाई देख्यौं र यसको समाधानको लागि केही नयाँ र फरक सोँच ल्याउने निर्णय गरेका थियौं । खासगरी दुग्धजन्य पदार्थको विविधिकरण नहुँदा, धुलो दूध र बटर जस्ता उत्पादनको बिक्री समस्यामा परेको छ । यसैलाई ध्यानमा राखेर, हामीले दूध, दही मात्र नभई अन्य नयाँ उत्पादन बजारमा ल्यायर दूधको खपत बढाउन अन्य स्थानीय खाद्य उत्पादनहरू शुरु गर्ने निर्णय गर्दै उद्योग स्थापना गरेका हौं । हाम्रो लक्ष्य भनेको एक स्थिर र विविध उत्पादन मोडेल निर्माण गर्नु हो, जसले स्थानीय डेरी किसानको जीवनस्तर सुधार्न र ग्रामीण अर्थतन्त्रलाई सहयोग पुर्याउन थप मद्दत पुर्याउनेछ । डेरी क्षेत्रमा मेरो लामो समयदेखिको आबद्धता तथा अनुभवलाई सार्थकता दिनका लागि हामिले यो यात्रा शुरुवात गरेका हौ ।

प्रालिका मुख्य उत्पादनहरू केके छन् र तपाईंका उत्पादनलाई बजारमा अन्य उत्पादनभन्दा कसरी फरक छन् ?

हामी दूध, दही, पनीर, बटर, घ्यु लगायत अन्य विभिन्न दुग्धजन्य उत्पादनको साथै खुवा, रसभरी, लालमोहन, पेडा, बर्फी, आइस्क्रीम, खुवा कुल्फी, दही, कुल्फी, पनीर भुजिया, पनीर मःम, चीज मःम गुदपाक, पुसटकारी जस्ता प्रोडक्टहरू उत्पादन गर्दैछौं । हामीले हाम्रा उत्पादनलाई खासगरी उच्च गुणस्तरको बनाउने प्रयास गरेका छौं र यिनलाई स्थानीय स्वाद र प्राथमिकता अनुसार अनुकूलित गरेका छौं । हाम्रो उत्पादनमा विविधता र गुणवत्ता कायम राख्नु हाम्रो प्राथमिकता हो । यसरी, हामी चाहन्छौं कि हाम्रो उत्पादनले बजारमा एक अलग पहिचान बनाओस् र उपभोक्ताको मन जित्न सकोस् ।

तपाईको व्यवसाय मोडलले स्थानीय किसानहरू र ग्रामीण अर्थतन्त्रलाई मद्दत पुर्याउने कुरा उल्लेख गर्नुभयो । कम्पनीले स्थानीय समुदाय र अर्थतन्त्रमा कस्तो योगदान पुर्याउने अपेक्षा राख्नुहुन्छ ?

हाम्रो कम्पनी केवल व्यावसायिक वृद्धिमा मात्र सीमित छैन, हामी समुदायको उत्थानमा पनि जोड दिन चाहन्छौं । प्रत्येक दिन ५ हजार लिटर दूध खपत हुनेछ, जसले स्थानीय डेरी किसानलाई प्रत्यक्ष रुपमा मद्दत पुर्याउँछ । यसका साथै हामी २० भन्दा बढीलाई रोजगारीको अवसर पनि सिर्जना गरेका छौं । यसले स्थानीय अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने विश्वास राख्छौं । हामी स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहित गर्दै नेपालको अर्थतन्त्रलाई बलियो बनाउन चाहन्छौं । यसरी हामी युवालाई कृषि र डेरी क्षेत्रमा संलग्न गर्न प्रेरित गर्न चाहन्छौं ।

तपाईले उत्पादनको विविधिकरणको महत्व र स्थिरताको कुरा गर्नुभयो । डेरी किसानको समस्या, विशेषगरी उत्पादनको बिक्री र भुक्तानी समस्याको समाधान कसरी गर्ने योजना बनाउनुभएको छ ?

अहिलेको समस्यामा खासगरी किसानको भुक्तानीमा बढी केन्द्रीत छ । यसरी भुक्तानी रोकिनुको मुख्य कारण समस्त उद्योगले उत्पादनमा विविधिकरण नगरिकन केबल बटर र एस एम पि मात्र उत्पादन हुन गयो । सो उत्पादन स्थानीय बजारमा खपत हुन सकेन, जसले गर्दा किसानको भुक्तानी केही ढिला हुन गएको हो । दुग्धजन्य पदार्थको बजारमा थुप्रै चुनौतीहरू देखिएका छन् । यसको समाधानको लागि हामी विभिन्न प्रकारका प्रोडक्टहरू उत्पादन गर्दै, बजारमा नयाँ माग सिर्जना गर्ने प्रयास गर्दैछौं । यसबाट किसानको आयमा वृद्धि हुनेछ र उनीहरूलाई समयमै भुक्तानी गर्न सकिन्छ । साथै, उत्पादनको विविधिकरणले बजारमा निरन्तर माग सिर्जना गर्नेछ, जसले गर्दा उत्पादन बिक्रीमा समस्या आउने छैन ।

सरकार र अन्य सरोकारवाला निकायले तपाईंलाई कस्तो सहयोग गरेका छन् ?

हामीलाई नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालदेखि लिएर राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादव लगायत उद्योग वाणिज्य महासंघ र पसुसेवा विभागका उच्च व्यक्तिबाट प्रशंसा र सहयोगको आश्वासन पाएका छौँ । बोर्डको तर्फबाट हामीलाई आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त भएको छ । स्थानीय तहको नेतृत्व र वडाध्यक्ष लगायतले पनि हामीलाई आवश्यक सहयोग दिने कुरा बताउनुभएको छ । हामी सबैको सहयोगले हाम्रो यात्रा अझ सफल हुनेछ भन्ने विश्वास राख्छौं ।

नेपालमा डेरी उद्योगको भविष्यका बारेमा तपाईंको धारणा के छ ?

मेरो दृष्टिकोण भनेको नेपालको डेरी उद्योगलाई एक समृद्ध उद्योगमा परिणत गर्नु हो, जहाँ किसानहरूलाई उनीहरूको परिश्रमको राम्रो मूल्य दिइन्छ र उपभोक्तालाई उच्च गुणस्तरका दूधजन्य र कृषि खाद्य पदार्थ उपलब्ध हुन्छन् । हामीलाई विश्वास छ कि नवप्रवर्तन र विविधताको माध्यमबाट नेपालको डेरी उद्योग अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छ । हाम्रो लक्ष्य भनेको स्थानीय उत्पादनलाई सुदृढ गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन र ग्रामीण समुदायहरूको जीवनस्तर सुधार्नु हो ।

तपाईं एउटा उद्योगी हुनुहुन्छ, यसमा सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

सर्वप्रथम सरकार उद्योगमैत्री हुनुपर्यो, देशका उद्योगलाई कसरी सक्षम बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन सकिन्छ भनेर कार्ययोजना र नीति नियम बनायर कार्यान्वयन गर्नु पर्यो । अहिले कुनै पनि तयारी खाद्यपदार्थ आयात गर्यो भने भन्सार दर कम र त्यही खाद्यवस्तु नेपालमै उत्पादन गर्न उद्योग खोल्नुपर्यो भने कच्चापदार्थ र मेसिनमा अत्यधिक कर लाग्ने हँुदा सरकार उद्योगमैत्री नभएर आयातमुखी भएको देखिन्छ । यदि हामी आफुलाई आत्मनिर्भर उन्मुख हुन चाहान्छौ भने सरकार एवम् उपभोक्ता सबैले आयतित वस्तुलाइ निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्दछ ।

 

You might also like

Comments are closed.