सामाजिक विकास कार्यालय म्याग्दी ३ महिनादेखि प्रमुखविहीन

म्याग्दी । सामाजिक विकास कार्यालय ३ महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरूले तलब पनि खान पाएका छैनन् ।

सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको कार्यालय हो । तत्कालीन कार्यालय प्रमुख रमेश थापाको गत कात्तिकमा सरूवा भएका थिए । प्रदेश सरकारले लामो समयसम्म अर्का प्रमुख नपठाउँदा सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको सेवाग्राही रूद्र सुवेदीले बताए ।

“स्वरोजगारमूलक उद्यमलाई सहयोग गर्ने कार्यक्रमको अनुदानका लागि छनोट भएर भुक्तानीका लागि कागजात पेस गरे पनि कार्यालय प्रमुख नहुँदा पाइएको छैन”, उनले भने । अधिकृतस्तरका कर्मचारी कार्यालय प्रमुख रहने उक्त कार्यालयमा हाल नायब सुब्बा गोविन्द पुन, एक जना प्राविधिक, लेखा र सहयोगीमात्र छन् ।

प्रदेश सरकारले उक्त कार्यालयमार्फत कार्यान्वयन हुने ४५ वटा योजनाका लागि चालु आवमा रु २ करोड ८० लाख ९० हजार बजेट विनियोजन गरेको छ । विभिन्न कार्यक्रमका लागि रु १ करोड ३५ लाख ७५ हजार विनियोजन भएको छ । ११ वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारे पनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्यून छ ।

कार्यालयमार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिकस्थलको संरक्षणसम्बन्धी योजना, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाति, एकल महिला, दलित समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।कार्यालय प्रमुख नहुँदा भएको समस्याका बारेमा मन्त्रालयमा जानकारी गराइएको र कार्यालय प्रमुखको प्रतिक्षामा रहेको नायबसुब्बा गोविन्द पुनले बताए ।

“कार्यालयको समस्याका बारेमा मन्त्रालयलाई जानकारी गराएका छाँै, हामी कर्मचारीहरूले ३ महिनादेखिको तलब पनि खान पाएका छैनौँ”, उनले भने, “मन्त्रालयबाट केही दिनमै कार्यालय प्रमुख पठाउने आवश्वासन पाएअनुसार समस्या समाधान हुनेमा आशावादी छौँ ।” रासस

You might also like

Comments are closed.