रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै

रामपुर (पाल्पा) । जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताएका छन् ।

उनका अनुसार रु १ करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ । उद्यान क्षेत्रमा २ हजार ७८६ वर्गमिटर पदमार्ग तयार पारिनेछ । पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी, चारैतिर घेराबारसहितको उद्यान निर्माण हुनेछ ।

“रामपुरलाई नमूना नगर बनाउन बृहत् उद्यान निर्माण कार्य भइरहेको छ । भौगोलिक हिसाबले पर्यटनको सम्भावना बोकेको रामपुरलाई पर्यटनमैत्री, हरियाली र सुविधासम्पन्न सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणमा नगरले प्राथमिकतामा राखेर काम गरिरहेको छ । यो उद्यान त्यसैअन्तर्गतको एउटा महत्वपूर्ण काम हो”, नगरप्रमुख थापाले भने ।

पवित्र कालीगण्डकी नदी र रामपुर उपत्यका भएर कालीगण्डकी करिडोर सडकमार्गले जोडेकाले पनि रामपुर हेर्न र घुम्न लायक सहर बन्ने भन्दै उनले त्यसका लागि नगरले आवश्यक योजनाका साथ काम गरिरहेको सुनाए । नगरपालिकासँग जोडिएको यो उद्यान तयार भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत सहज हुनेछ । यो आरामस्थल तथा अवलोकन गर्ने माध्यम बन्नेछ । आगामी असार मसान्तसम्म सम्पन्न हुनेगरी निर्माण कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेश, सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाका लागि विनियोजित रु २६ करोड ७१ लाख बराबरको रकममध्ये रु १ करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँ ३० पैसाको लागतमा उद्यान निर्माण हुन लागेको हो । बाँकी रकमबाट रामपुर नगरपालिका–५ र ६ मा पर्ने सहायक सडकहरूको स्तरोन्नति कार्य भइरहेको छ । यस आयोजनाअन्तर्गत उद्यानसहित यहाँ करिब ९ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए ।

बुटवल, नारायणघाट, पोखरा र काठमाडौंजस्ता देशका ठूला सहरसँग सडक सञ्जाल जोडिएपछि यहाँको विकासले गति लिएको छ । सडक सुविधाको पहुँच पुगेपछि रामपुर एउटा सुगम सहरका रूपमा विकसित हुँदैछ । यस क्षेत्रमा स्थानीय सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्र तथा धार्मिक स्थल स्तरोन्नतिको काम धमाधम अगाडि बढाइरहेको छ । जसले पर्यटकीय गतिविधि बढोत्तरीमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ । रासस

You might also like

Comments are closed.