पोखरा । मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यसवर्षको जाउँ है पोखरा अभियान औपचारिक रुपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विहीबार अभियानको समापन गर्दै जाउँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको बताए । आफ्नो खुट्टामा आफैं उभिन सक्ने वातावरण जाउँ है पोखरा जस्ता अभियानले सिर्जना गर्न सक्ने उनले बताए ।
अभियानका संयोजक एवं आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा फेवा किनारमा आयोजना हुने नयाँ वर्ष महोत्सवका क्रममा पोखरा पुग्ने पाहुनालाई संघ अन्तर्गतका होटल तथा लजमा २० प्रतिशत छुट प्रदान गरिने बताए । उनले जाउँ है पोखरा अभियानले देशका सातै प्रदेश जोड्ने उद्देश्य बोकेको बताउँदै विदेशी र गोरो छाला मात्र नभई नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता अभियानले सिर्जना गरेको स्मरण गराए ।
कार्यक्रममा बन्दिपुर केवलकार प्रालिका उपाध्यक्ष किरण पोखरेलले सो परियोजना अन्तर्गत सञ्चालन भएका योजना र आगामी दिनमा सञ्चालन हुने सेवा सुविधाबारे जानकारी गराएका छन् । कार्यक्रममा होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, पर्यटन क्षेत्रका विज्ञ दिपेन्द्र पहारी र आयोजक संघका उपाध्यक्ष गणेशराज पहारीले भनाइ राखेका छन् ।
यसअघि बुधबार महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा सो क्षेत्रका पर्यटकीय गन्तव्य र सम्भावनाका बारेमा चर्चा गरिएको छ । सो अवसरमा बोल्दै मधेश प्रदेशका उद्योग, वाणिज्य एवं पर्यटन मन्त्री सकिल अलि मियाँले पर्यटन व्यवसायी र सम्बन्धित संघसंस्थासँग अन्तक्र्रिया गरी सल्लाह र सुझाव लिएर अव आउने बजेट तर्जुमा गरिने प्रतिवद्धता जनाए । कार्यक्रममा सांसद शारदा देवी थापा, आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ दिपेन्द्र पहारी, नाथमका सिवेन्द्र मलिक, होटलकर्मीहरु गुञ्ज कार्की र हिरा गौतम र आयोजक संघका उपाध्यक्ष गणेशराज पहारीले आफ्ना भनाइ राखेका छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले संघले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानको यस पटकको कार्यक्रममा फागुन १८ गते सुरु भएर २२ गते सम्पन्न भएको छ । पहिलो कार्यक्रममा धनुषाको जनकपुर र दोश्रो तथा तेश्रो कार्यक्रम क्रमशः झापाको विर्तामोड र सुनसरीको इटहरीमा सम्पन्न भएको बताइएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सम्पन्न पूर्वको अभियानको क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा पोखरामा आयोजना गरिएको नयाँ वर्ष महोत्सवमा सहभागी हुन पुर्वका बासिन्दालाई निमन्त्रणा गरेको बताएका छन् ।
पर्यटकीय राजधानी पोखरामा पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ का बारेमा समेत अभियानको क्रममा चर्चा गरिएको छ । संघका सचिव पार्वती पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Comments are closed.