पोखरा । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु टोलि गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको थियो तर, गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो । आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसंगै आर्मीले नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।
यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तिनै जनाले समान पाँच–पाँच हजार रुपैयाँ संगै ट्रफी हात पारे ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनितिकर्मीहरुले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । खेलाडीहरुले हरेक परिस्थितिमा कसरी खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनीसंगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ति कुराहरु सिके राजनीति र देश विकासका लागि नयाँपन दिन सक्ने उनको भनाइ थियो ।
मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो ।
गत चैत ३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।
Comments are closed.