पोखरा । पोखरामा पहिलो पटक आजबाट नाडा प्रिजेन्ट्स ‘वाडा अटो शो २०२५’ सुरु भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजना तथा नाडा अटोमोबाइल एसोसिएसन (नाडा) को सहयोगमा पोखराको अमरसिंहचौरमा ‘वाडा अटो शो २०२५’ सञ्चालन गरिएको छ ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । शुभारम्भ कार्यक्रममा नाडा अटोमोबाइल एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरी, चितवन अटोमोबाइल एसोसिएसन अध्यक्ष कुलबहादुर क्षेत्री लगायतले सहभागीता जनाएका छन् । शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउन, भिजिट पोखरा २०२५ लाई पनि टेवा पुग्ने पश्चिमान्चल अटोमोवाइल्स डिलर्स एसोशिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।
नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकैथलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् ‘वाडा अटो शो २०२५’ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाडा अध्यक्ष कोइरालाले बताएका छन् ।
‘अटो शो’ मा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाका २० वटा स्टलहरू रहने प्रचार संयोजक विनय थापाले जानकारी दिए । प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने विश्वास लिइएको कार्यक्रम संयोजक एवम् वाडाका उपाध्यक्ष निरन केसी बताउँछन् ।
प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । अटो शो मा बन्दिपुर केवुलकार एण्ड टुरिजम लिमिटेडले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउनेछ ।
प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । करिव ३५ हजार दर्शकले अवलोकन गर्ने आयोजकले बताएको छ । अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मावि. सहयोगी संस्था बनेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको छ ।
प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि., अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस (मनिपाल हस्पिटल), इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स लिमिटेड जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् ।
कार्यक्रमको पूर्वसन्ध्यामा पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाई कार्यक्रम गरिएको थियो । विहिबारबाट सुरु भएको ‘वाडा अटो शो २०२५’ ४ दिनसम्म चल्नेछ ।
Comments are closed.