बिमाको आधारमा इ–कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने

काठमाडौं । ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खातामै ।

बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ–कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन् । कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै रु ५० हजार सम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको बताए । तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई–कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुने उनी बताउँछन् ।

You might also like

Comments are closed.