रामपुर उद्योग वाणिज्य संघको सेवा आफ्नै भवनबाट

सुशीला रेग्मी/रामपुर (पाल्पा) । रामपुर उद्योग वाणिज्य संघले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघले भवन निर्माण गरेर नयाँ भवनबाट सेवा प्रवाह गरिरहेको छ । रामपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को रु १५  लाख र संघको रु २८ लाख  गरी जम्मा रु ४३ लाखको लागतमा भवन निर्माण गरिएको संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

रामपुर नगरपालिका–५ स्थित नहर अफिस क्षेत्रमा रहेको दुई रोपनी सरकारी जग्गामा भवन निर्माण भएको छ । सभाहल, पदाधिकारी, सचिवालय, भण्डारण कक्ष एक/एकवटा र तीनवटा शौचालय निर्माण गरी कार्यालयको भवनबाटै सेवा दिइएको संघका बरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

संघको भवन निर्माण नहुँदा रामपुर बेझाड नहरअफिसमा भाडामा कार्यालय सञ्चालन भइरहेको थियो । आफ्नै भवन निर्माण गरेर सेवा दिन पाउँदा धेरै सजिलो भएको संघले जनाएको छ । वि.स. २०७२ असोज २४ गते जिल्ला प्रशासन कार्यालय पाल्पामा संस्था दर्ता भए संघले संस्थागत रुपमा रामपुरमा कार्यालय स्थापना गरेर उद्योगी, व्यवसायीको हकहितमा काम गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.