नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप एण्ड इन्नोभेसन फोरमले सक्रियतापूर्वक काम गर्दै आइरहेको छ । नेपालमा स्टार्टअप प्रवृत्तिलाई प्रवद्र्धन गर्नु र यसको लागि उपयुक्त नीति र कार्यक्रमहरू निर्माणमा सहयोग गर्नु फोरमको मुख्य उद्देश्य हो । फोरमले स्टार्टअपका लागि आवश्यक नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र यसका लागि अनेक प्रकारका पहलहरू पनि भइरहेको छ ।
स्टार्टअपको परिभाषा र यसका लागि उपयुक्त कानूनी र वित्तीय संरचना निर्माणमा फोरमले महत्वपूर्ण काम गरिरहेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा स्टार्टअपका लागि कर्जा प्रणालीको सुधारमा काम गरिएको छ, जसले स्टार्टअपको वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसैक्रममा, फोरमले नीति र कार्यक्रमहरूलाई प्रभावकारी बनाउन केन्द्र र प्रदेश स्तरमा डाइलगहरू पनि आयोजना गरिरहेको छ । जहाँ स्टार्टअपको अवस्था, नीति, सम्भावना र चुनौतिहरुका बारेमा भरपुर छलफल भएका छन् ।
नेपालमा स्टार्टअप प्रवृत्तिमा वृद्धि भएको छ । यसका लागि जागरूकता फैलाउन पनि फोरमले कार्य गरिरहेको छ । स्टार्टअपका बारेमा जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ । विशेषगरी, स्टार्टअप मिशन २०२०–३० कार्यक्रमलाई सफल बनाउन मन्त्रालयसँग मिलेर हामीले पनि काम गरिरहेका छौं । स्टार्टअपका विषयलाई प्रधानमन्त्रीले पनि चासो दिनुभएको छ । हालै हामीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्टार्टअपको महत्व र यसको विकासमा सरकारले लिने कदमहरूको बारेमा आफ्नो चासो र स्पष्ट विचार व्यक्त गरेका छन् ।
देशभरमा स्टार्टअपको लागि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता हामीले देखेका छौं । काठमाडौंमा मात्र सीमित नगरी देशभर स्टार्टअपको विकास गर्न जरुरी छ । भारत लगायतका देशबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । भारतले आयोजना गरेको स्टार्टअप महाकुम्भमा पनि नेपालले प्रतिनिधित्व गरिरहेको छ । त्यहाँबाट पनि धेरै कुरा सिकेर हामीले आफ्नो देशको स्टार्टअप विकासमा काम गर्न सक्छौं । नेपाल सरकारले पनि स्टार्टअपको महत्वलाई बढाउँदै गएको छ र विशेषगरी उद्योग मन्त्रालयले यसलाई प्राथमिकतामा राखेको छ ।
सरकारले ल्याएका कार्यक्रमहरूको कार्यान्वयनमा थप सुधार र सहकार्यका लागि नेपाल उद्योग वाणिज्य महासंघ र स्टार्टअप एण्ड इन्नोभेसन फोरम सक्रिय छ । यद्यपि, स्थायी र दीर्घकालीन नीति निर्माणमा अझै सुधारको आवश्यकता छ । स्टार्टअपको क्षेत्रमा जोखिम र चुनौतीहरू हुने भएपनि, सकारात्मक सोच र प्रोत्साहनले यसको विकासलाई गति दिन सक्छ । स्टार्टअपमा लागेको हरेक व्यक्ति र संस्थालाई सरकारले प्रोत्साहित गर्नुपर्छ । यसका लागि दीर्घकालीन नीति र उपयुक्त प्रोत्साहन योजना निर्माण गर्नु अत्यन्त महत्वपूर्ण छ । यदि सही नीति र कार्यान्वयन हुन्छ भने, नेपालमा स्टार्टअपको सम्भावना धेरै ठूलो छ र यसले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
Comments are closed.