सुदुरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजको राष्ट्रिय भेला नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । शनिबार राष्ट्रिय भेलाबाट लक्ष्मण पोख्रेलको अध्यक्षतामा १३ सदस्य कार्यकारी समिती रहने गरी सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपालको औपचारिक गठन गरिएको छ ।
एसोसिएसनबाट ३२ वटा सम्बन्धन प्राप्त क्याम्पसको साझा संस्था हुनेछ । नवगठिन एसोसिएसनको उपाध्यक्षमा राजन सापकोटा, महासचिवमा भुवन चक्र जोशी, सचिवमा शंकरप्रशाद शर्मा र कोषाध्यक्षमा रामकृष्ण दंगाल चयन भएका छन् । यस संस्थाले विश्वविद्यालयसँग सम्बन्धित ३२ वटा निजी क्याम्पसको प्रतिनिधित्व गर्नेछ ।
अध्यक्ष पोख्रेलका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पस तथा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर, व्यावसायिक अवसर, अनुसन्धान र हकहितको सुरक्षाका लागि विश्वविद्यालय, सरकारी, गैर सरकारी निकायहरु, मन्त्रालयहरू, विभागहरू तथा अन्य एजेन्सीसँग सकारात्मक समन्वय गर्नेछ ।
महेन्द्रनगर कञ्चनपुरमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालय वि.सं २०६७ सालमा नेपाल सरकारको पूर्ण स्वमित्वमा राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापना गरिएको हो । विश्वविद्यालय शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, सामुदायिक संलग्नता र साझेदारीको सन्दर्भमा देशको एक प्रमुख शैक्षिक संस्थाको रूपमा सञ्चालित हुँदै आइरहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयले व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि, सामाजिक शास्त्र, मानविकी, सूचना प्रविधि लगायत विभिन्न संकायमा स्नातकदेखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सुदूरपश्चिम विश्वविद्यालयका १५ आंगिक क्याम्पसहरू र ३२ वटा निजी सम्बन्धन प्राप्त क्याम्पसलाई छन् ।
विद्यार्थी संख्याको हिसाबले सुदूरपश्चिम विश्वविद्यालय नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो । सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपालको गठनपछि विश्वविद्यालय र सम्बन्धित क्याम्पसबीच समन्वय बढ्ने, शिक्षा तथा अनुसन्धानको गुणस्तर सुधार हुने अपेक्षा गरिएको बताइएको छ ।
Comments are closed.