कोशीमा सुरु भयो ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली

काठमाडौं । कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु भएको छ । इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट सोमबार यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सेवाको उद्घाटन गरेका हुन् ।

यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन् । साथै लाइसेन्सको आवदेन दिँदा, नविकरण गर्दा र लाइसेन्ससम्बन्धि कुनै पनि शुल्क तिर्दा लाइन बस्नुपर्ने झन्झट हटेको छ ।

नवीकरण गर्दा मन्त्रालयमा सूचीकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिनेछ । आगामी साउनबाट भने प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि लाइसेन्स लिनमात्रै कार्यालय पुग्नुपर्नेछ ।

कोशी प्रदेशका सबै यातायात कार्यालयहरुमा यो सेवा सुरु भएको हो । विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण मंगलबारदेखि अनलाइन भुक्तानी प्रकृया सुरु हुने जनाइएको छ ।

You might also like

Comments are closed.