तीन देशलाई जोड्ने पारबहन नीतिका लागि पहल गरेका छौं

शिवप्रसाद घिमिरे, सभापति, स्थल यातायात तथा पारवहन समिति, नेपाल उद्योग वाणिज्य महासंघ

स्थल यातायात तथा पारवहन समिति नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूरानो र सक्रिय समिति हो । यो समितिले यातायात नीति निर्माणमा पहल गर्ने, यो क्षेत्रका समस्या तथा चुनौतिहरुको पहिचान गर्ने, समाधानका उपायहरु खोज्ने काम गरिरहेको छ । ढुवानी लागत घटाउने उपायहरुको खोजीदेखि अन्य समसामयिक विषयमा छलफल तथा बहस गर्दै आइरहेको छ । नेपालको समग्र विकासमा यातायात र पारवहन क्षेत्रको महत्वपूर्ण भूमिका छ । यसका लागि हामीले पारबहनलाई व्यवस्थित बनाउनुपर्छ ।

हालै, स्थल यातायात तथा पारवहन समितिले बंगलादेश, भारत र नेपाल (बिआइएन) लाई जोड्ने पारवहन नीतिमा महत्वपूर्ण पहल गरेको छ । तीनवटै देशका यातायात क्षेत्रका कानुन फरक भएता पनि, समिति यसलाई मर्ज गरेर एकीकृत प्रणालीको माध्यमबाट पारवहनमा सहयोग पु¥याउने अभियानमा सक्रिय छ । यस अभियानमा विश्व बैंक, युनडिपी र युएसआइडीजस्ता अन्तर्राष्ट्रिय संस्था समेत सहभागी छन् । परराष्ट्र मन्त्रालयको नेतृत्वमा चलिरहेको यो अभियानले तीन देशका बीचमा सहयोग र समन्वयलाई सुदृढ बनाउने कार्य गर्दैछ । हामीले आफ्नो ठाउँबाट यो अभियान सफल बनाउन सक्रिय योगदान गरिरहेका छौं ।

तीन देशको सहयोगमा एकीकृत पारवहन प्रणालीको निर्माणले नेपाललाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास गर्न सकिन्छ । नेपालको यातायात क्षेत्रको प्रमुख चुनौती ढुवानी खर्चको उच्च लागत हो । नेपालमा सामानको आयात र निर्यातका लागि ढुवानी खर्च अत्यधिक हुने समस्याले उत्पादन लागत बढाउँछ । लागत बढी हुँदा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनिरहेको छ । यस्ता समस्याहरुको समाधानका लागि समितिले विभिन्न प्रयासहरु गर्दै आएको छ ।

समितिले सरकार र निजी क्षेत्रलाई एकै स्थानमा ल्याएर पारवहन नीतिहरु र त्यससँग सम्बन्धित समस्याहरुको बारेमा छलफल र सुझाव दिने काम गरिरहेको छ । यातायात तथा पारबहन समस्याको पहिचानसँगै ती समस्या समाधानका उपायहरु पनि सुझाउँदै आएका छौं । ढुवानी खर्च कसरी घटाउन सकिन्छ भन्ने विषयमा निरन्तर छलफल र बहस भइरहेका छन् । पारवहन प्रणालीमा तत्काल सुधार ल्याउनुपर्ने आवश्यकता महसुस भएको छ । यसका लागि सरकार र निजी क्षेत्रको समन्वय र आपसी समझदारी आवश्यक छ । यस्ता सुधारहरुले नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन गर्नेछन् र अन्ततः आर्थिक विकासमा मद्दत पु¥याउनेछन् ।

नेपालको सडक पूर्वाधारको सुधार र प्रभावकारी यातायात नीतिहरु अवलम्बन गर्नका लागि सरकार र निजी क्षेत्रका बीचमा सहकार्य महत्वपूर्ण छ । नेपाल उद्योग वाणिज्य महासंघले सरकार र निजी क्षेत्रलाई जोड्ने कार्य गर्दै आएको छ । नीति निर्माण र कार्यान्वयनमा सहकार्यको वातावरण सिर्जना भएको छ । तर, जति हुनुपर्ने त्यति भने हुन सकेको छैन । महासंघले थप रचनात्मक र उपलब्धीपूर्ण काम गर्नुपर्ने आवश्यकता छ ।

You might also like

Comments are closed.