वाशुदेव मिश्र
राजा महेन्द्रले रानी रत्नको नाममा २०१५ सालमा फेवाताल किनारमा बंगला शैलीको रत्नमन्दिर ठड्याए । पोखरा–काठमाडौं सडकले जोडिएकै थिएन । डकोटा जहाजबाट पोखरा झरेपछि राजालाई सायद गाडीको ‘तलतल’ लाग्यो । उनले २०१५ सालमै त्यही डकोटा जहाजबाट पोखरामा मोटर झारे । दर्ता नम्बर १ रहेको सो मोटर रत्नमन्दिरमै राखिन्थ्यो ।
पोखरा बस्दा महेन्द्र त्यही मोटर चढ्थे । २०१६ सालतिर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई ‘शाही अतिथि’को रुपमा रत्नमन्दिर निम्त्याउँदा राजा महेन्द्रले सैनिक सचिवलाई त्यही गाडी लिएर पोखरा एयरपोर्ट लिन पठाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार त्यो जीप रत्नमन्दिरमै राखिन्थ्यो । पछि राजा महेन्द्र नहुँदा त्यो जीप रत्नमन्दिरका कर्मचारी भोला कोइरालाले चढ्थे । ‘पछि त चढ्नै छाडियो, के–के भयो कुन्नि ?’, मुल्मीले भने, ‘त्योभन्दा पनि पहिले पनि केही कृषि वैज्ञानिकहरुले पोखरामा पटनाबाट रसियन जीप ल्याएको भन्ने कुरा छ तर नागरिकको हकमा कसले पहिले निजी गाडी चढ्यो भन्ने ठ्याक्कै भन्न सकिँदैन ।’
पोखरा बस व्यवसायी समितिका पूर्वअध्यक्ष रमेश गिरीका अनुसार २०२० सालसम्म पनि पोखरामा करिब १२ किलोमिटर लामो ढुंगा बिच्छ्याइएको धुलौटे बाटो थियो । राजा महेन्द्र चाहिँ आफूले चढ्ने रसियन जीपबाटै लमजुङको कुन्छासम्म पुगेका थिए । पहिलो पञ्चवर्षीय योजनामै समावेश गरिएको हुलाकी राजमार्ग अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन तर त्यो बेला खनिएको बाटोमा जीप चाहिँ गुड्ने खालको नै भएको मुल्मीको भनाइ छ । मुल्मीका अनुसार पोखराको सार्वजनिक यातायातको विकास क्रममा हेर्ने हो भने ‘९ नम्बरको ढ्वाङ’लाई सम्झनुपर्ने हुन्छ । खासमा त्यो सिट नभएको ‘मिनीबस’ नै थियो ।
‘गाडीभन्दा पहिला ढ्वाङ बस नै चल्या हो, यहाँ । विदेशीले ल्याएर बेचेको हो । पहिला विदेश बसेका र गाडी चलाउन जान्ने मालिङ्गे भन्ने व्यक्तिले किनेर यहाँ चलाउन थाले,’ मुल्मीले भने, ‘उनी आफैं गाडी चलाउँथे । एयरपोर्टबाट सामान, मान्छे ल्याउने र लैजाने गर्थे ।’ मुल्मीका अनुसार त्यो बेला गाडी कहाँबाट ल्याउने भन्ने पनि थाहा थिएन । त्यसपछि चाहिँ नेपाल र पोखरामा रसियन जीप आउन थाले । नेसनल टे«डिङले रसियन जीप बेच्थ्यो । बडाहाकिमले पनि गाडी ल्याए । अहिले मालेपाटनमा कृषि केन्द्र रहेको ठाउँमा कुनै बेला ग्राम विकास केन्द्र थियो । कच्चीमा पनि दौडने त्यो जीप हुनेखानेले पनि किने ।

‘प्राइभेट भनेर किने भन्ने लाग्दैन । मट्टितेल, मान्छे, नुनका बोरा पनि राख्न मिल्ने । त्यो जीप यहाँबाट आर्मीले बनाएको शिसुवा– बेलचौतारा पुग्थ्यो । सिद्धार्थ राजमार्ग बनेपछि बुटबलसम्म पनि गयो र पोखरामा अनौपचारिक जीप सेवा नै सुरु भयो भन्नुपर्छ,’ उनले भने, ‘पछि त्यही जीपलाई केहीले निजी बनाए ।’ पोखरामा पहिलो मोटरसाइकल चढ्ने चाहिँ यहाँको गणेशटोल बस्ने चैतन्य महाप्रभु राणा थिए । उनले २०१९ सालतिर मोटरसाइकल गुडाएका थिए । त्यो रसियन मोटरसाइकल थियो र ठूलो आवाज निकाल्दै दौडन्थ्यो ।
इतिहास अध्येता सुनिल उलकका अनुसार पोखरामा दर्ता भई सञ्चालन भएको पहिलो नम्बरको रसियन जीप बडाहाकिम गमबहादुर गुरुङको थियो । प १ नं. गो लेखिएको जीप पछि उनले मेजर खुसीमान गुरुङलाई बेचे । खुसीमानले किनेपछि त्यो जीपको नम्बर ग अ १ भएको थियो । त्यो बेला गाडीमा नम्बरमात्र राख्ने गरिन्थ्यो । ‘पछि उपत्यकामा दर्ता भएका गाडीमा उ का (उपत्यका काठमाडौं) र अन्य क्षेत्रमा त्यहीँको नाम राखिन्थ्यो,’ उनले भनेका छन्, ‘जस्तो कि, पोखरामा प ३ नं. गो ८ (पश्चिम ३ नं. गोश्वारा) । २०१८ सालमा अञ्चल छुट्याइए । त्यसपछि दर्ता भएका नयाँ गाडीमा ग.अ. लेख्न थालियो ।
यातायात कार्यालयको अभिलेख हेर्ने हो भने २०२१ सालसम्म पोखरामा ८ वटा जीप तथा निजी गाडी र ३ वटा ट्रक दर्ता भएको देखिएको छ । त्यतिबेला ट्रक भनिए पनि ती साना ट्रक अर्थात् लरी थिए । जसमध्ये एउटा भैरवटोलका सकसबहादुर थकाली (शेरचन)को थियो । ९ नम्बर ढ्वाङ चाहिँ बुटबल पोखरा अर्थात् सिद्धार्थ राजमार्ग बन्न थालेपछि पोखरा आएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मुल्मीका अनुसार २०२६ सालमा सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि त धेरै गाडी आउन थाले । २०२९ सालमा पृथ्वी राजमार्ग सुरु भएपछि चाहिँ व्यावसायिक रुपले नै यातायात सञ्चालनमा आएको उनको भनाइ छ । ‘त्योभन्दा पहिले त सामान बोक्ने खच्चडले नै हो, काठमाडौं कि जहाजमा त कि हिँडेरै जानुपथ्र्यो,’ मुल्मीले भने, ‘सार्वजनिक बस चल्न थालेको त ३३ सालतिर नै हो ।’

उनका अनुसार निजी सवारी राख्ने चलन चाहिँ निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था बढेपछि नै हो । २०३१ सालमा पोखरा औद्योगिक क्षेत्र स्थापना भयो । त्यो बेलासम्म पनि ठ्याक्कै प्राइभेट गाडी भन्ने थिएन । तर, औद्योगिक क्षेत्रमा उद्योग खोलेका स्वर्गीय हेमबहादुर प्रधान, लक्ष्मी हाउसका संस्थापक बुद्धिबहादुर/गणेशबहादुर श्रेष्ठले ल्याण्डरोभर जीप किने । उनीहरु त्यो गाडीलाई चढ्न र मालसामान बोक्न पनि प्रयोग गर्थे । मुल्मीका अनुसार पोखराका तत्कालीन निर्माण व्यवसायी कीर्तिबहादुर केसी (उद्योगपति स्वर्गीय सूर्यबहादुर केसीका पिता) ले पनि पछि मोटरसाइकल चढ्न थाले ।

पृथ्वी र सिद्धार्थ राजमार्गको सञ्चालनपछि पोखरामा पश्चिमाञ्चल भूतपूर्व सैनिक ट्रान्सपोर्ट कम्पनी सञ्चालनमा आयो । २०३३ सालमा सञ्चालित सो कम्पनीले सुरुमा पोखरामा ४ वटा नगर बस सञ्चालनमा ल्यायो । पोखरामा बाटाहरु पनि बढ्दै गए । गाडी पनि भित्रिन थाले । यातायात व्यवसायी रमेश गिरीका अनुसार त्यो बेला पोखरामा ४ वटा सार्वजनिक नगर बस, १३ वटा ट्रक र एक सयजति टोयटाका ट्याक्सी रहेका थिए । ती टोयटाका ट्याक्सी अहिले पनि पोखरामा देख्न सकिन्छ । उनका अनुसार मोटरसाइकलसमेत गरी २०३० सालसम्म पोखरामा कुल ११७ वटा सवारी साधन रहेका थिए भने मोटर गुडाउन मिल्ने सडक जम्मा २४ किलोमिटर थियो ।

समय बदलिएको छ । अहिले गण्डकी प्रदेशमा मात्रै करिब १३ हजार किलोमिटर सडक सञ्जाल बिस्तार हुँदा हिमालपारिको जिल्ला मुस्ताङको कोरोला नाका र मनाङमा गाडी चढेर पुग्न सकिने भएको छ । मध्यपहाडी राजमार्गको यात्राको क्रममा बागलुङ हुँदै रुकुम–रोल्पा पुग्ने भएपछि यहाँ सवारी साधनको संख्या पनि ह्वात्तै बढेको छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट सवारी साधन किन्न ऋण पाइन्छ । किस्ताबन्दीमा सवारी किन्ने सुविधासँगै निजी सवारी संख्या ह्वात्तै बढेको छ ।
बढ्दो वैदेशिक रोजगारले भित्र्याएको रेमिट्यान्स, २०६२/०६३ पछि बढेको घरजग्गा कारोबारका कारण पनि गाडी किन्नेहरु बढेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनको बुझाइ छ । यातायात व्यवस्था कार्यालय गण्डकीका सवारी शाखाका गगनकुमार भुषालका अनुसार २०८१ को फागुन मसान्तसम्म सबैखाले गरेर गण्डकीका ३ लाख २५ सवारी साधन दर्ता भएका छन् । यसमा करिब २ लाख मोटरसाइकल, ३५ हजारको हाराहारीमा निजी र भाडाका गरी गाडी रहेका छन् । र, यो बढ्ने क्रममा छ ।
तस्वीरहरु : (नोटः यी तस्वीरहरु नेपाल भ्रमणमा आएका पिसकोरका स्वयंसेवीले खिचेका हुन् र इतिहास अध्येता सुनिल उलकले यसको संरक्षण गर्दै आइरहेका छन् ।)
Comments are closed.