काठमाडौँ । दक्षिण एसियाको अग्रणी आतिथ्य ब्रान्ड ‘एट्मोस्फेयर कोर’ ले नेपाललाई आफ्नो नयाँ गन्तव्यको रूपमा थपेको छ। कम्पनीले बनेपाको सुन्दर उपत्यकामा रहेको ‘आरुण्य नेचर रिसोर्ट बाइ एट्मोस्फेयर’ सँगको सहकार्यमार्फत नेपाल प्रवेशको घोषणा गरेको हो।
यो रिसोर्ट सन् २०२५ को अन्तिम त्रैमासिकमा (Q4) सञ्चालनमा आउनेछ। ‘लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेड’ सँगको सहकार्यमा निर्माणाधीन यो २५ एकड क्षेत्रफलमा फैलिएको रिसोर्ट समुन्द्र सतहबाट ५,००० फिट उचाइमा रहेको छ, जहाँ हिमालको मनोरम दृश्य, शान्त वातावरण र सांस्कृतिक सम्पदाको संगम पाइन्छ।
‘एट्मोस्फेयर कोर’ का समूह प्रबन्ध निर्देशक श्री सलिल पाणिग्राहीले भने, “नेपाल दक्षिण एसियाको लक्जरी आतिथ्य क्षेत्रमा छिटो उदाउँदै गएको छ। अबका पर्यटकहरू मौलिक, गहिरा र कम पहिचान भएका गन्तव्यहरू खोजिरहेका छन्। बनेपाको आरुण्य रिसोर्ट हाम्रो रणनीतिक विस्तारको स्वाभाविक कदम हो।”
भारत, नेपाल, श्रीलंका र भुटानका लागि एट्मोस्फेयर कोरका प्रबन्ध निर्देशक श्री सुभग्य मोहापात्रले भने, “आरुण्य रिसोर्ट केवल रिसोर्ट होइन, यो नेपाललाई महसुस गर्ने एक अद्वितीय माध्यम हो – यसको कथा, संस्कार, र अतिथिप्रति उदार भावना।”
रिसोर्टमा ५१ वटा सुइट्स र कटेजहरू हुनेछन्, जसबाट हिमालयको दृश्य झ्याल हुँदै हेर्न सकिन्छ। रिसोर्टभित्र दुई वटा रेस्टुरेन्ट हुनेछन् – एउटा खुला डाइनिङसहित र अर्को विशेष नेपाली तथा एसियाली खानामा केन्द्रित।
रिसोर्टमा एट्मोस्फेयर कोरको अवार्ड-विनिंग वेलनेस ब्रान्ड ‘ELE|NA’ द्वारा सञ्चालित वेलनेस स्यान्क्चुअरी रहनेछ। यहाँ पाहुनाहरूले परम्परागत उपचारहरू, ध्यान, योग, प्रकृति पदयात्रा, परिवारमैत्री गतिविधि, र स्विमिङ पुलको सुविधा पाउनेछन्।
‘लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेड’ का अध्यक्ष श्री ज्ञानेन्द्र लाल प्रधानले भने, “बनेपा ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक रूपमा समृद्ध स्थान हो। एट्मोस्फेयर कोर जस्तो अन्तर्राष्ट्रिय स्तरको ब्रान्डसँगको सहकार्यले यो गन्तव्यलाई सचेत र लक्जरी पर्यटनको केन्द्र बनाउन सघाउनेछ।”
यो परियोजना एट्मोस्फेयर कोरको द्रुत अन्तर्राष्ट्रिय विस्तार योजनाअन्तर्गत नेपालमा भएको पहिलो लगानी हो। यसले दक्षिण एसिया तथा यूरोपमा कम्पनीको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
Comments are closed.