रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । सोमबार आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै प्रमुख रमणबहादुर थापाले कालीगण्डकी डाइभर्सन विरुद्ध नगरपालिकाले सशक्त रुपमा आवाज उठाउँदै आएको बताए । अन्य पालिकासंग सहकार्य गर्दै अघि बढेको बताउँदै यहाँका धार्मिक आस्था, संस्कृति र पारिस्थितिक प्रणालीको रक्षाका लागि नगर कार्यपालिकाको बैठकबाट निर्णय गरी लाग्दै आएको नगर प्रमुख थापाले जानकारी गराए ।
नगरका १० वटै वडामा समानुपातिक रुपमा विकासका योजना नगरले सञ्चालन गर्दै आएको स्पष्ट पारेका छन् । फोहोर व्यवस्थापन नगरको चुनौतिको रुपमा देखिएको भन्दै निरन्तर प्रयास भइरहेको बताए । विकास निर्माणका योजनाको काम गुणस्तरीय र समय मै सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग संगै निगरानी गर्नु आवश्यक रहेको नगर प्रमुख थापा बताउँछन् । नगरको विकासका सबैको रचनात्मक सुझावको खाँचो रहने भएकाले सुझाव र सल्लाह दिन उनको आग्रह गरेका छन् ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चालु आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले विनियोजित बजेटमध्ये चालुतर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हालसम्म ३२ करोड ४ लाख ६ हजार २४३ रुपैयाँ ८२ पैसा र पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार विनियोजन भएकोमा ५ करोड १८ लाख ७६ हजार ३६६ खर्च भएको जानकारी दिए । नगरभित्र सञ्चालनमा रहेका ३८० योजना मध्ये २३५ वटा योजना सम्पन्न भएको उनको भनाइ छ ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिलबहादुर खाँणले नगरको विकासमा सरोकारवालाको सुझाव र सल्लाह महत्वपूर्ण हुने बताए । नगरपालिका मार्फत सञ्चालन भएका भ्रमणका विषयमा उठेका जिज्ञासा माथि स्पष्ट पारेका छन् । कार्यक्रममा सहभागीमध्ये ११ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका छन् ।
कार्यक्रममा सहभागीमध्ये नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, सल्लाहाकार कृष्णप्रसाद पौडेल, सल्लाहाकार फणेश्वर गौतम, रामपुर ६ का सुन्दरप्रसाद देवकोटा, रामपुर ३ का रविचन्द्र न्यौपाने, रामपुर ८ का दिपकमणी अर्याल, पत्रकार रमा भण्डारी, रामपुर ५ का हरिप्रसाद पौडेल, बालकल्याण प्राविका प्रधानाध्यापक नगेन्द्र काफ्ले, रामपुर ७ का लुकनाथ घिमिरे, रामपुर ६ का राजेन्द्रबहादुर कुमालले लगायतले आफ्ना जिज्ञासासहित सुझाव राखेका छन् ।
सहभागीले डिजिटल नापी, घर नक्सा पास, फोहोरमैला व्यवस्थापन, घरहरुको अभिलेखिकरण, अनुदानको वीँउ, शीतभण्डार, वडा सचिव नहुँदा भएको समस्या, सडक तथा अन्य पूर्वाधार निर्माणको अनुगमन, विपदको जोखिम न्यूनिकरणको तयारी, दिगो विकास, सिंचाईसंगै कालीगण्डकी डाइभर्सनको विषयमा जिज्ञासा राखेका छन् ।
सहभागीको जिज्ञासा र प्रश्नको जवाफ ६ नं. विशेष नापी कार्यालयका प्रमुख दिपक यादव, नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखा अधिकृत विकल काफ्ले, रोजगार शाखा संयोजक गणेशप्रसाद रेग्मी, कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे लगायतले मेटाएका हुन् । नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम नगर प्रमुख थापाको अध्यक्षतामा भएको हो । उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई नगर प्रवक्ता खाँणले धन्यवाद दिएका हुन् ।
नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले सहजिकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, सरकारी कार्यालय प्रमुख, पत्रकार तथा सर्वसाधारण लगायतको सहभागी थिए ।
Comments are closed.