युवा उद्यमी उत्पादनमा जोड दिदै नेपाली युवा उद्यमी मञ्च

पोखरा । नेपाली युवा उद्यमी मञ्चले युवाहरुलाई लक्षित गर्दै ‘लिडर प्रोजेक्ट’ कार्यक्रम सञ्चालन गरिरहेको छ । मञ्चले क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसंग सहकार्य गरी आईभी बिजनेश स्कुलका विद्यार्थीद्धारा सञ्चालित ‘लिडर प्रोजेक्ट’ २०१६ देखि निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको हो ।

नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरले यसबर्ष पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रसंगको साझेदारीमा दोस्रो पटक ‘लिडर : आइडियाज फ्रम पोखरा’ भन्ने शीर्षकमा कार्यक्रम आयोजना गरेको छ । यही बैशाख १५ गतेबाट सुरु भएको कार्यक्रम २६ गतेसम्म (१२ दिन) सम्म सञ्चालन हुनेछ । कार्यक्रममा ४० जना विद्यार्थीको सहभागिता रहेको छ ।

बिजनेश प्रशिक्षणमार्फत उद्यमशिलता तथा आर्थिक विकासमा सघाउन कार्यक्रम आयोजना गरिएको हो । विश्व प्रसिद्ध आईभी बिजनेस स्कुलको बिशिष्ट प्रकारको केस–अध्ययन प्रणालीबाट सहजिकरण हुने हुदा यसबाट नयाँ कुराको सिकाई आर्जन गर्न सकिने प्रोजेक्टका संयोजक तथा मञ्चका कार्यसमिति सदस्य प्रतिकराज पहारीले बताए ।

आईभी बिजनेश स्कुलले अन्तर्राष्ट्रिय स्तरमा नेपाल लगायत अन्य ७ वटा देशमा पनि आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत प्रशिक्षकका रुपमा पठाउने गरेको छ । ‘लिडर ः आइडियाज फ्रम पोखरा,२०२५’ को अन्तिम चरणमा कार्यक्रमका सहभागीले आफ्ना बिजनेश योजनाहरु, प्यानलको अगाडि प्रस्तुत गर्नेछन् । सो प्यानलमा उद्योग बिशेषज्ञ, उद्यमी र प्रोजेक्टका एल्मनि सदस्यको संलग्नता रहनेछ ।

प्यानलद्वारा घोषित उत्कृष्ट बिजनेश योजना बनाउने पहिलो, दोस्रो, तेस्रो र चौथो हुने समूहलाई क्रमशः नगद रु ५१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार प्रदान गरिने व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । व्यवसाय प्रवद्र्धन केन्द्र बिजनेस प्रमोशन सेन्टर, पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित एक इकाई हो ।

नवप्रवर्तन, उद्यमशीलता र स्वरोजगारलाई प्रवद्र्धन गर्नु यसको उद्धेश्य रहेको छ । केन्द्रले युवा, एकल महिला, वैदेशिक रोजगारीबाट फर्केका, अपाङ्गता भएका व्यक्ति लगायतलाई व्यवसायिक तालिम, व्यवसाय योजना निर्माण, बजार पहुँच, वित्तीय पहुँच, दर्ता सहयोग, प्राविधिक सहायता र नवप्रवर्तनमा सहजीकरण प्रदान गर्दछ ।

साथै स्थानीय उद्यमलाई सशक्त बनाउने, आर्थिक विकासमा टेवा पु¥याउने र भविष्यका उद्यमीलाई तयार पार्ने कार्य गर्दछ । समावेशी र दीगो आर्थिक विकासको दिशामा केन्द्रीत रहेकाले सहकार्य गरिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडारियाले बताए ।

मञ्चका अध्यक्ष विशेष थापाले उद्यमशिलतामा सकारात्मक सोँच ल्याउने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको र युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवालाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए । यस संस्थाले युवा उद्यमीबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीपलगायतका कार्यहरु गर्दै आएको छ । संस्थामा देशका १४ वटा शहरका ८ सय बढी युवा उद्यमीहरु आबद्ध छन् ।

नेपाल युवा उद्यमी मञ्चको मूल मान्यता र कार्यक्रमको लक्ष्यलाई प्रभावकारी बनाउन ‘लिडरः लिडर : आइडियाज फ्रम पोखरा’ का मुख्य प्रायोजकमा एनएमबी क्यापिटल लिमिटेड, प्रभु बैंक र इन्फोमेटिक्स कलेज पोखरा छन् भने सह–प्रायोजकमा बाराही बेकरी, गौरीशंकर होस्टल र होटल क्राउन हिमालयज रहेका छन् ।

You might also like

Comments are closed.