रामपुरका महिलालाई उद्यमी बनाउन सीपमूलक तालिम सञ्चालन

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले महिलालाई पोते माला तथा चुरा बनाउने तालिम सहित उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । उपप्रमुख ग्रामिण महिला उत्थान कार्यक्रम अन्तर्गत १३ दिने पोते माला तथा चुरा बनाउने तालिममा सहभागि महिलालाई व्यवसाय सञ्चालन तथा प्रवद्र्धन सीप प्रदान गरिनेछ ।

नगर उपप्रमुख बालकुमारी थापाले स्थानीय उत्पादनको अभिवृद्धि गरी रामपुरलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको बताइन् । उनले दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सीपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गरिन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाशा पोखरेलले आर्थिक समृद्धि र जीविकोपार्जनका लागि सीपमूलक तालिम महत्वपूर्ण रहेको बताए । नगर प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाँणले गुणस्तरीय र बाह्य वस्तुसंग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यपालिका सदस्य मायादेवी नेपालीले तालिमलाई तालिममा मात्र सिमित गर्न नहुने भन्दै जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन् ।

तालिममा सीप सिकेर उद्यमी बन्न चहाने महिलालाई सिर्जनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यवसायीक बनाउनका साथै व्यवसायीक योजना बनाउन सिकाइने उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताए । तालिममा नगरपालिका भित्रका ३८ जना महिलाको सहभागिता रहेको छ ।

सहभागीलाई ४ दिन उद्यम विकास सम्बन्धी तालिम र त्यसपश्चात १३ दिनसम्म पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरिनेछ । वडा नं.२ का वडाध्यक्ष कृष्णबहादुर दर्जीको स्वागत र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा भएको कार्यक्रम नगर उपप्रमुख थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.