काठमाडौं । अटोमोटिभ्स प्रालिले आयोजित पाँचौं संस्करणको ‘मेरोअटो मोटर र्याली २०८१’ सम्पन्न भएको छ । काठमाडौंको नक्सालबाट सुरू भएको र्याली गौशला–चाबहिल–जोरपाटी–थली–साँखु–नगरकोट–कुन्ताबेँसी–जेरोकिलो–दोलालघाट हुँदै सुकुटे पुगेर सम्पन्न भएको हो ।
र्यालीको उद्घाटन नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ र जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्त रूपमा गरेका हुन् । र्यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी रहेको बताइएको छ । र्यालीमा अटोमोबाइल व्यवसायी, अटो क्षेत्रमा काम गर्ने प्रोफेसनल, कन्टेन क्रिएटर, बैंकर, पत्रकार लगायतको सहभागीता थियो ।
मोटर र्यालीमा नेपालमा उपलब्ध अधिकांश ठूला ब्राण्डका कारहरू सहभागी थिए । यस वर्षको मोटर र्याली ईभीमय बनेको थियो । र्यालीमा सहभागी ८५ प्रतिशत बढी कार ईभी थिए । यो मोटर र्याली आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम कल्चर स्थापित, हाइवे ड्राइभिङ र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी भएको र्यालीका संयोजक उज्ज्वल घिमिरेले बताए ।
यस वर्षदेखि र्यालीकै अवसरमा मेरोअटोले सामाजिक कार्य समेत थालेको उनले जानकारी दिए । ‘आन्तरिक पर्यटन विकाससँगै हाइवे ड्राइभको अनुभव दिलाउन वर्षेनी मोटर र्याली आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्षदेखि हामी सीएसआरमा पनि जोडिएका छौं । यसलाई आगामी वर्षमा पनि निरन्तरता दिनेछौं ।’
मेरोअटोले र्यालीको अवसरमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२, उखुबारीस्थित कालिका आधारभूत विद्यायलका विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ । मेरोअटोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयका ६० बढी विद्यार्थीलाई झोला, कापीकलम, फुटबल, क्यारेमबोर्ड लगायत सामग्री हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बीच मेरोअटोका प्रधान सम्पादक सागर गजुरेलसहितको टिमले सो सामग्री विद्यालयका प्रधानध्यापक टीका पराजुलीलाई हस्तान्तरण गरेका थिए । मेरोअटोका प्रबन्ध निर्देशक हरि गजुरेलले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको बताए । नाडाका पूर्वध्यक्ष कृष्णप्रसाद दुलालले मेरोअटो मोटर र्यालीले अटोमोबाइल क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए ।
यस वर्षको मेरोअटो मोटर र्यालीको मुख्य प्रायोजक लक्ष्मी हुन्डाई रहेको थियो । त्यस्तै, बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मल्टिप्लेक्स पार्टनर आइएनआइ सिनेमा रहेको छ । सपोर्टेड बाइमा कर्भ ईभी, सीजी मोटर्स, हेनरी भोल्टस्, लीपमोटर, इसिजु, हाइगर ईभी, टोयोटा, जीकर, ओमोजारजेको, एलआर मोटर्स र अरेटे रहेका छन् ।
मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणको र्याली सन् २०२१ को काठमाडौं–सुकुटेसम्म भएको हो । दोस्रो संस्करणको काठमाडौं–मूलकोट, तेस्रो संस्करणको काठमाडौं त्रिशुली र चौथौं संस्करणको काठमाडौं–सौराह भएको थियो ।
Comments are closed.