काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालन सम्भाव्यता अध्ययन यात्रा सुरु

काठमाडौं । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न बिहीबार नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेका हुन् ।

टोलीलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बिदाइ गरेका छन् । उनले रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको बताउँदै पर्यटकलाई काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुनेछ भन्नेमा विश्वास लिएको जनाए । “यस भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउनेछ, आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि यसले योगदान दिनेछ भने कर्णालीलाई सुगम गन्तव्यका रूपमा चिनाउने यो अभियान महत्वपूर्ण हुनेछ” उनले भने ।

टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले यात्राको सफल सुरुआत नेपाल पर्यटन बोर्डले देखाएको सद्भावको परिणाम भएको बताएका छन् । उनले भने, “सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्रामा यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरुको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रुपमा अघि बढ्नेछौं ।“

टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको हुँदा काठमाडौंदेखि रारा जाने यो नै सही सिजन रहेको बताएका छन् । भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

You might also like

Comments are closed.