पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले धर्म र संस्कृतिलाई लापर्वाही र अवहेलना गर्नेको अद्योगति हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २० र ११ को संयुक्त आयोजनामा पोखरा महानगरपालिका–२० मा पर्ने हरिहर गुफा सन्यास आश्रममा पहिलोपटक आयोजित बोलबम जलयात्राको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख जिसीले पोखरालाई प्राकृतिक जत्तिकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए । उनले पोखराको पूर्वोत्तर क्षेत्रमा रहेको हरिहर गुफा सन्याम आश्रम पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भएको बताए । उनले हरिहर गुफा सन्यास आश्रम तनावमुक्त गर्ने ठाउँका रुपमा विकास हुनसक्ने भन्दै यसको गुरुयोजना बनाएर काम गर्न सुझाव दिए । यसको समृद्धीका लागि गुरुयोजना बनाउनुस्,‘उनले भने,‘गुरुयोजना बनाउँदा १ वर्षमा कति गर्ने, २ वर्षमा कति र ३, ४, ५ वर्षमा कति गर्ने भनेर छुट्याउनुस्, अनि गुरुयोजना अनुसारै काम गर्नुस् ।’ उनले गुरुयोजना तथा यसको डिपीआर बनाउँदा धर्मको मर्म र भुगोल बुझेकालाई बनाउन दिन आग्रह गरे । उनले आश्रममा पूर्वाधार निर्माणका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासनसमेत दिए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले हरिहर गुफाको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक २ वटा वडा मिलेर बोलबम जलयात्रा आयोजना गरिएको स्पष्ट पारे । अध्यक्ष गुरुङले आगामी दिनमा बालाचतुर्दशी, शिवरात्री जस्ता विभिन्न धार्मिक उत्सवहरुमापनि यसरी नै कार्यक्रम गरेर हरिहर गुफा सन्यास आश्रममा धार्मिक पर्यटक भित्रयाउने योजना रहेको बताए ।
पोखरा–१६ का अध्यक्ष जीवन आचार्यले हरिहर गुफाको विकास र प्रवद्र्धनका लागी अफ्नो वडाबाट पनि सहयोग रहने बताए । पोखरा–११ का अध्यक्ष मोहन बास्तोलाले हरिहर गुफाको विकास र प्रवद्र्धनका लागि पोखरा–२० सँग सहकार्य गर्ने बताए ।
हरिहर सन्यास आश्रममा यस वर्ष साउनमा परेको ४ वटै सोमबार बोलबम जलयात्रा निकालिएको हो । साउनको अन्तिम सोमबार जलयात्रामा हजारौं भक्तजन सहभागि भएका थिए ।
Comments are closed.