सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानून बनाउन समितिको वाणिज्य मन्त्रालयलाई निर्देशन

काठमाडौं । संसदीय समितिले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न आवश्यक कानूनी प्रबन्ध मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

यसअघि, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती र तिनका समाधानसहितको विस्तृत अध्ययन प्रतिवेदन समिति समक्ष प्रस्तुत गरेको थियो। महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले समितिका सभापति अब्दुल खानलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका थिए।

बैठकमा अध्यक्ष सुनारले सुनचाँदी व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न समयसापेक्ष ऐन तथा नियमहरूको तत्काल आवश्यकता रहेको औंल्याए।

महासंघको प्रतिवेदन र व्यवसायीका सुझावहरूलाई आधार मान्दै समितिले सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने, सुनचाँदी, हिरा, जवाहरात तथा अन्य बहुमूल्य धातुहरूको आयात प्रक्रियालाई प्रणालीगत गर्ने, धातुबाट बनेका तयारी गरगहनाको निर्यात प्रवर्द्धन गर्ने, र खरिद-बिक्री प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गर्ने जस्ता महत्वपूर्ण विषयहरूमा कानूनी व्यवस्था गर्न वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।

 

 

You might also like

Comments are closed.