काठमाडौं । नेपाली कृषिजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने दिशामा एक ऐतिहासिक सफलता हासिल गर्दै Arksh Food ले पहिलोपटक आफ्नै उत्पादन कोदो बिस्कुट अष्ट्रेलियामा निर्यात गर्न सफल भएको छ।
Hama Global Pty. Ltd. मार्फत अष्ट्रेलियाको विभिन्न राज्यका बजारहरूमा वितरण गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो। यसबाट अब अष्ट्रेलियाका विभिन्न सुपरमार्केट र रिटेल आउटलेटहरूमा नेपाली मौलिक अन्नबाट बनेको बिस्कुट सहज रूपमा उपलब्ध हुने भएको छ।
नेपाली कोदोको अन्तर्राष्ट्रिय पहिचानतर्फ एक ठोस कदम
नेपाली परम्परामा गहिरो जरा गाडेको अन्न ‘कोदो’ लाई परम्परागत रूपबाट आधुनिक स्वरूपमा रूपान्तरण गर्दै Arksh Food ले ‘बिस्कुट’, ‘कुकीज’ र ‘पफ’ को रूपमा बजारमा ल्याएको हो। अहिलेको पुस्ताको स्वाद, जीवनशैली र स्वास्थ्यप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै कम्पनीले स्वास्थ्यवर्द्धक, फाइबरयुक्त र प्राकृतिक विकल्पका रूपमा कोदो बिस्कुटलाई अन्तर्राष्ट्रिय उपभोक्तासमक्ष प्रस्तुत गरेको हो।
नेपाली स्वादसहितको अन्तर्राष्ट्रिय स्वास्थ्यप्रद विकल्प
Arksh Food का अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नै देशको स्वाद दिलाउने उद्देश्यका साथै अष्ट्रेलियन उपभोक्तालाई स्वास्थ्यकर तथा संस्कृतिक रूपमा भरिपूर्ण नेपाली उत्पादन चाखाउने लक्ष्य रहेको छ। अष्ट्रेलियाली बजारमा प्राकृतिक उत्पादनको माग उच्च रहेकाले कोदो बिस्कुट त्यहाँका लागि एक उपयुक्त, पौष्टिक र नविनतम विकल्प सावित हुने विश्वास गरिएको छ।
‘Made in Nepal’ मा मात्रै होइन, ‘Grown in Nepal’ मा पनि जोड
Arksh Food ले ‘Made in Nepal’ उत्पादनलाई परिभाषित गर्दै उत्पादित वस्तुमा प्रयोग हुने कच्चा पदार्थ पनि नेपालमै उत्पादन हुनुपर्ने मान्यताका साथ अगाडि बढेको छ। कम्पनीले प्रयोग गर्ने कोदो आफ्नै किसानद्वारा उत्पादित हो, जसले स्वदेशी कृषि प्रणाली, जलवायु अनुकूल खेती र किसानको आय वृद्धिमा समेत सहयोग पुर्याइरहेको छ।
उत्पादनको विस्तार, उच्च प्रशंसा र अन्तर्राष्ट्रिय योजना
कोदो बिस्कुटसँगै कम्पनीले क्रमशः कोदो पफ, कोदो कुकीजजस्ता उत्पादनहरू पनि बजारमा ल्याएको छ। यी उत्पादनहरूले स्वदेशी उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाएका छन्। अष्ट्रेलियामा सफलतापछि Arksh Food अब अमेरिका, बेलायत, जापान र मध्यपूर्वजस्ता मुलुकहरूमा पनि नेपाली कोदोका उत्पादनहरू विस्तार गर्ने तयारीमा रहेको छ।
स्वाद, संस्कृति र स्वास्थ्यको सन्देश
Arksh Food ले यस अभियानमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली स्वाद, संस्कृति र स्वस्थ खानाको सन्देश पुर्याउने लक्ष्य लिएको छ। कम्पनीले विश्वव्यापी बजारमा नेपाली पहिचान बनाउन ‘Nepal to the World: Healthy Food, Healthy Life’ भन्ने नारा अघि सारेको छ।Arksh Food को यो प्रयासले नेपाललाई अन्तर्राष्ट्रिय खाद्य उद्योगमा नयां उचाइमा पुर्याउने सम्भावना बोकेको छ। नेपाली माटोमा उब्जिएको अन्नले अब विश्व बजारमा नेपाली पहिचान, संस्कार र स्वास्थ्यप्रति योगदान दिने विश्वास गरिएको छ।
Comments are closed.