पोखरा । पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले कार्यक्रम उद्घाटन गर्दै यो अवधिमा विभिन्न खेलकुदसहित रचनात्मक गतिविधिका प्रतियोगिता सञ्चालन गरिने बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने विद्यालयले जनाएको छ । विज्ञान हाजिरीजवाफ र नेपाली वक्तृत्वकला प्रतियोगिता पनि हुनेछन् । खेलकुदका गतिविधि अन्तर्गत भलिवल र बास्केटबलतर्फ छात्रका २० र छात्राका ८ टिम, टेवलटेनिसतर्फ ३२ वटा टिम र ब्याडमिन्टनतर्फ छात्रका ३० र छात्राका १० टिम सहभागि छन् ।
‘यो खेल प्रतियोगिता मात्र होइन, एउटा फरक खालको महोत्सव पनि हो,’ प्राचार्य सापकोटाले भने, ‘यसले विभिन्न जिल्लाबाट आएका विद्यार्थीलाई एकअर्कासँग सम्बन्ध बिस्तार गर्ने अवसर दिएको छ, नयाँ साथी पहिचान गर्ने अवसर दिलाएको छ ।’ प्राचार्य सापकोटाका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लासहित लुम्बिनी प्रदेशबाट पनि सहभागि हुन आएका छन् ।
विद्यार्थीले क्षमता देखाउने अवसर यस्तै गतिविधिबाट पाउँछन् । प्रतियोगिताले विद्यार्थीमा भएको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउन सघाउँनेछ । एसइई दिएर बसेका बालबालिकालाई खेलकुद र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि कार्यक्रम आयोजना गरिएको हो । विद्यालयले अघिल्ला वर्ष पनि एसइई दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो ।
प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कार दिइनेछ । उनका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरी २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ । आइतबारदेखि सुरु भएको यो कार्यक्रम आउँदो असार ७ गतेसम्म चल्नेछ ।
Comments are closed.