काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री प्रक्रिया अझ पारदर्शी, सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ एक नयाँ अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ। बैंकको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी अब एकै स्थानबाट प्राप्त गर्न सकिने भएको छ।
ग्राहकहरूले बैंकद्वारा प्रकाशित लिलाम बिक्री सूचनामा रहेको QR कोड स्क्यान गरी सिधै पोर्टलमा प्रवेश गर्न सक्छन्। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर र क्षेत्रफल, सम्पत्तिको फोटो र नक्सा, सम्बन्धित स्थानको गुगल म्याप लोकेशन जस्ता विवरणहरू समावेश गरिएको छ।
पोस्ट गरिएको सम्पत्ति विवरणको पृष्ठमा नै रहेको म्यासेज बक्समार्फत ग्राहकहरूले थप जानकारी लिन सक्छन्। त्यसका लागि आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सिधै सन्देश पठाउन सकिनेछ।
बैंकले उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूका साथै अन्य बैंक तथा गैर-बैंक सम्पत्तिहरूको विवरण अद्यावधिक गर्ने जनाएको छ। इच्छुक व्यक्तिहरूले पोर्टलमार्फत नै सम्पूर्ण लिलाम सम्बन्धी सूचनाहरू हेर्न, तुलना गर्न र प्रस्ताव गर्न सक्नेछन्।
एनआईसी एशिया बैंकले यो डिजिटल प्रणालीमार्फत लिलाम प्रक्रिया पारदर्शी, व्यावसायिक र ग्राहकमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ। बैंकले ग्राहक महानुभावहरूलाई उक्त पोर्टल प्रयोग गरी सहज रूपमा सम्पत्ति छनोट र जानकारी प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेको छ।
Comments are closed.