रामपुरमा खादा बनाउने तालिम सम्पन्न

रामपुर (पाल्पा) । रामपुर नगरपालिका भित्रका महिलालाई खादा बनाउने तालिम प्रदान गरिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलालाई तालिम प्रदान गरिएको हो । तालिम गत जेठ १६ गते देखि सुरु भएको तालिम एक कार्यक्रमका बीच समापन गरिएको छ ।

तालिम समापनको अवसरमा सहभागी महिलालाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमुलक तालिम सञ्चालन गर्दै आएको बताए । उनले महिलालाई प्राप्त सीपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गरे ।

नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको नगर प्रमुख थापा बताउँछन् । यसअघि सञ्चालन भएका तालिम पश्चात विभिन्न वडामा महिलाले उद्यम व्यवसाय सञ्चालन गरिरहेको उनले जानकारी दिए । उद्यमीलाई व्याज अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै तालिम लिएर उद्यम सुरु गर्ने महिलालाई आवश्यक उपकरणहरु अनुदानमा प्रदानसँगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने उनी बताउँछन् ।

उपप्रमुख बालकुमारी थापाले महिलालाई उद्यम बनेर अघि बढ्न आग्रह गरिन् । तालिम पश्चात् उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आउनु भएका महिलालाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको उनले जनाइन् । साथै उनले उद्यमी महिलाले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घरबाट बिक्री वितरण गर्ने वातावरण निर्माण गरिएको जानकारी दिइन् ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिलबहादुर खाँणले तालिम लिनु मात्र नभै प्राप्त तालिम कसले कति सदुपयोग गरे भन्ने कुरा महत्वपूर्ण रहने बताए । कार्यक्रममा प्रशिक्षक बन्दना रानाले सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गरिन् । सहभागीको तर्फबाट माया श्रेष्ठ र फूलमाया परियारले आफ्नो अनुभव सहित तालिमलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाए ।

तालिममा २२ जना महिलाको सहभागीता रहेको तालिममा प्रशिक्षक बन्दना राना र निर्मला सारुले खादा बनाउने सीप प्रदान गरेका हुन् । उपप्रमुख थापाको अध्यक्षता,  महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.