काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहिएकी अमला रोका (मगर) लाई प्रहरीले काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार पक्राउ गरेको हो ।
रोका हाल केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्। तस्करी प्रकरणमा संलग्न आरोपमा छिरिङ यसअघि नै पक्राउ परेका थिए र अहिले कारागारमा छन् ।
स्रोतका अनुसार अमला रोका माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनसँग निकट सम्वन्ध राख्ने व्यक्ति मानिन्छिन् ।
दावा छिरिङ र अमला रोकाले काठमाडौँको ठमेलमा ‘भियना होटल’ सञ्चालन गर्दै आएका थिए। सीआईबीले उनीहरूका व्यवसायिक र व्यक्तिगत गतिविधिको अनुसन्धान अघि बढाएको बताइएको छ ।
६१ किलो सुन तस्करी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूविरुद्ध पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। रोका पक्राउसँगै उक्त तस्करी प्रकरणमा थप रहस्य खुल्ने अपेक्षा गरिएको छ ।
Comments are closed.