रामपुर (पाल्पा) । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तटहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ ।
लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कुल चलाइनेछ । आउँदो आर्थिक वर्षदेखि स्कुल चलाउने योजना अनुसार सबै सामानको बन्दोबस्त भइरहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।
“रामघाटधाम एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र भएको हुँदा ज्येष्ठ नागरिक पनि यहाँ आउन आतुर हुनुहुन्छ, नगरपालिकाले आवतजावतका लागि बस ल्याइसकेको छ, नयाँ आर्थिक वर्षदेखि स्कुल चल्नेछ, समय बिताउने माध्यम मात्र नभइकन धार्मिक क्रियाकलापमा पनि दिनभर सक्रिय रहदा मन प्रफुल्ल हुनेछ” अध्यक्ष रेग्मीले भने ।
रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक स्कुलमा ६० वर्ष देखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहदा खाने बस्ने लगायतका आवश्यक सेवा सुबिधा नगरपालिकाले बेहोर्ने नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।
“विहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घर–घरमा पुनः पु¥याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ, ज्येष्ठ नागरिकलाई अबका दिन खुशीसँग बिताउन नगरले स्कुल नै चलाउने तयारी गरिरहेको छ, स्कुल सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार, सामाग्री तयारी अवस्थामा रहेको हुँदा अब छिट्टै सुरुवात गर्नेछौँ” नगर प्रमुख थापाले भने ।
ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने नगर प्रमुख थापाले बताउँछन् । स्कुलमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालको छ । रातीमा बसोबास गर्न ईच्छुक नागरिकलाई धर्माश्रमको व्यवस्था मिलाइएको छ ।
“विभिन्न उमेर समूह, सबै वर्ग, समुदाय, जातजातिलाई समाहित गरेर बिहान ९ बजेदेखि ११ बजेसम्म कर्मकाण्ड सम्बन्धी कक्षा तथा नैतिक शिक्षा सञ्चालन हुनेछ” नगर प्रमुख थापाले भने,–“प्रवचनका लागि एक जना प्रशिक्षक नगरपालिकाले पारिश्रमिक दिएर व्यवस्थापन गर्नेछ, रामघाट धामलाई गुरुकुल शिक्षाको रुपमा विकास गर्ने नगरको योजना रहेको छ”
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ज्येष्ठ नागरिक स्कुल सञ्चालन गर्न रु ३० लाख बजेट विनियोजन गरेको नगर प्रमुख थापाले बताए । रामपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक स्कुललाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थ सहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम सञ्चालन गरिने समेटिएको नगर प्रमुख थापाले जानकारी दिए ।
कालीगण्डकी नदीको किनारमा रहेको यस रामघाट धाम रामतपोभूमी रहेको हुँदा यहाँ अवलोकन तथा धार्मिक क्रियाकलापका लागि पर्यटक तथा भक्तजन आउने क्रम बढ्दो छ । त्रेतायुगमा भगवान् रामचन्द्रले बनोबास जाने क्रममा यहाँ आएर बसोबास गर्दा स्नान गरेको हुनाले यो स्थानलाई रामघाट नामाकरण गरिएको हो । कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि देशका विभिन्न स्थानबाट श्रद्धालुभक्तजन अवलोकन तथा स्नान, पूजापाठ गर्न यहाँ आउने गरेका छन् ।
रामघाटसम्म पुग्ने सडकमार्ग स्तरोन्नती, आवश्यक भौतिक संरचना निर्माण भएपछि सजिलो भएको छ । समितिले २०७४ देखि दश वर्षे गुरुयोजना बनाएर क्रमिक रुपमा पर्यटकीय पूर्वाधार विकासका कामहरु गर्दै आइरहेको छ । रामनवमी, कृष्णजन्माष्टमी लगायतका विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ । धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुई जना पूजारी व्यवस्था गरिएको छ ।
पुजारी र महन्त निवास, खानेपानी, शौचालय, विद्युत्, इन्टरनेट, पूरानो लक्ष्मीनारायण मन्दिर पुनःनिर्माण, पूरानो पौवा निर्माण, ३० जना अट्ने क्षमताको धर्मशाला, तीन सय अट्ने क्षमताको सभाहल भोजनालय, विवाह, ब्रतबन्ध मण्डप, प्रवेशद्धार, उद्यान, फलफूल बगैचा, चौतारी लगायतका संरचना निर्माण गरिएको छ । मन्दिरको पश्चिमपट्टी महादेव पार्क र पार्कको चारैतिर कुनामा चार स्तम्भ छन् । जहाँ शालिग्राम सजाइएको छ ।
त्रिदेव मन्दिर निर्माणको काम भइरहेको छ । जहाँ पहिलो तलामा ऋषिमुनी, पितृको ३० वटा मूर्ति, दोस्रो तलामा विभिन्न देवी देवताको ३० वटा मुर्ति, तेस्रो तलामा ब्रह्मा, विष्णु, महेश्वर, राम लक्ष्मण, सीता र राधाकृष्णको मूर्ति राखिनेछ । गुरुयोजना अनुसार वनभोजस्थल, गुरुकुल, विवाहमण्डप, कोटीहोम, एउटा थप हल निर्माण गर्ने योजना छ ।
Comments are closed.